• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भयो: सांसद हर्क साम्पाङ

    सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भयो: सांसद हर्क साम्पाङ

    काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले वर्तमान सरकार जनताको अपेक्षा अनुसार काम गर्न पूर्ण रूपमा असफल भएको भन्दै कडा आलोचना गरेका छन्।

    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका हुन्। प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ-आफ्नो जिम्मेवारी सही ढङ्गले वहन गर्न नसकेको उनको टिप्पणी थियो।

    संसदमा बोल्दै सांसद साम्पाङले भने, “सहकारी पीडितले अझै पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय पाउन मुस्किल छ र अस्पतालमा नागरिकले सहज उपचार पाउने अवस्था छैन। सरकार संसदप्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा यहाँ गरिने बहसको कुनै औचित्य रहँदैन।”

    उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सरकार पछाडि परेको दाबी गरे।

    विशेष गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा छानबिन गरी स्थानीय बस्तीवासीलाई न्याय दिन माग गरे।

    त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले तत्काल ठोस पहल गर्नुपर्नेमा उनले जोड दिए।

    विकास निर्माणका काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै सांसद साम्पाङले सुनसरी–१ लगायत देशभर रोकिएका तथा सुस्त गतिमा रहेका योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरे।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २, मंगलवार ०७:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP