काठमाडौँ— काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अल्पसंख्यक सहमहामन्त्रीको एक पदका लागि चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
उक्त पदका लागि केन्द्रीय सदस्य आंगेलु शेर्पा, सांसद योगेश गौचन थकाली, केन्द्रीय सदस्य नरेन्द्र कुमार कुमाल र महाधिवेशन प्रतिनिधि बालकृष्ण सापकोटाले उम्मेदवारी दिएका हुन्। चुनावी मैदानमा चार जना भए पनि मुख्य प्रतिस्पर्धा भने शेर्पा र गौचनबिच नै हुने देखिएको छ।
सोलुखुम्बुका शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य हुन्। यसअघि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले अन्त्यमा सहमहामन्त्रीमा मनोनयन दर्ता गराएका हुन्।
अर्का मुख्य प्रतिस्पर्धी गौचन कांग्रेसका प्रभावशाली युवा नेता एवम् बहालवाला सांसद हुन्। २०७९ को आम निर्वाचनमा मुस्ताङबाट २९ वर्षको उमेरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई उनी नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कान्छा सांसदका रूपमा चर्चामा आएका थिए। त्यसपछि २०८२ फागुनमा भएको निर्वाचनमा उनी पुनः प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
साविक लेते गाउँ सभापति र जिल्ला कार्यसमिति सदस्य हुँदै राजनीतिमा अघि बढेका गौचन हाल गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य छन्। सक्रिय विद्यार्थी राजनीति, सामाजिक संस्था, युवा क्लबको नेतृत्व तथा पटक–पटक पार्टीको महासमिति एवम् महाधिवेशन प्रतिनिधि भइसकेका उनले अन्तर्राष्ट्रिय युवा मञ्चहरूमा पनि आफूलाई सबल रूपमा प्रस्तुत गर्दै आएका छन्। उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्।
त्यस्तै, चुनावी मैदानमा रहेका इलामका कुमाल कांग्रेस केन्द्रीय सदस्य हुन् भने सापकोटा महाधिवेशन प्रतिनिधि हुन्।
असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १ बजेदेखि मतदानको कार्यतालिका रहेको छ।
प्रतिक्रिया