सरकारले नवगठित ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’को कार्यकारी निर्देशक पदमा युवा उद्यमी किरण तिमसिनालाई नियुक्त गरेको छ। असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले तिमसिनालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिएका छन्।
सिफारिस समितिले कार्यकारी निर्देशकका लागि सर्टलिस्ट गरेका ६ जनाको प्रतिस्पर्धामा अन्य आवेदकहरू नारायणप्रसाद घिमिरे, ध्रुव ज्ञवाली, डा. भोजराज घिमिरे, ई. निराजन पन्थी र डा. श्रीधर मरासिनीलाई पछि पार्दै तिमसिना चयन भएका हुन्। उनी प्रतिष्ठित ‘फोर्ब्स अन्डर ३०’ को सूचीमा समेत परिसकेका युवा उद्यमी हुन्।
सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको निर्माण, स्तरोन्नति तथा मर्मतसम्भार गरी सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ बमोजिम यो केन्द्र स्थापना गरिएको हो। प्रथम श्रेणीका राजपत्रांकित कर्मचारीसहित कुल ३० जनाको दरबन्दी रहने यस केन्द्रले सार्वजनिक निकायहरूको मागअनुसार सफ्टवेयर विकास गर्ने, लिगेसी प्रणालीको सुधार गर्ने तथा निर्माण गरिएका सफ्टवेयरका लागि चौबीसै घण्टा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
यसबाहेक, केन्द्रले सूचना प्रविधि प्रणालीको एसआरएस (SRS) र डिजिटल पूर्वाधारको प्राविधिक मापदण्ड तयार गर्नेछ। साथै, सफ्टवेयर विकासका क्रममा उच्च सुरक्षा मापदण्ड अपनाउँदै डाटाको सुरक्षित होस्टिङ, प्रशोधन, ब्याकअप र प्राविधिक संरक्षणको कामसमेत गर्ने जिम्मेवारी पाएको छ।
प्रतिक्रिया