अविरल वर्षा र त्यसपछि आएको बाढी-पहिरोका कारण देशका प्रमुख राष्ट्रिय राजमार्ग तथा मुख्य सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। सडक विभागका अनुसार काठमाडौँ उपत्यकालाई जोड्ने मुख्य धमनीका रूपमा रहेका पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्गसहित सातवटा राष्ट्रिय राजमार्गमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। त्यसैगरी, पूर्व–पश्चिम राजमार्गसहित अन्य छ वटा मुख्य सडक खण्डमा भने एकतर्फी तथा आंशिक रूपमा मात्रै सवारी साधन सञ्चालन भइरहेका छन्।
विभागका अनुसार पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा खसेको पहिरोका कारण दुवैतर्फको आवागमन रोकिएको छ भने प्रहरीले पहिरो पन्छाउने काम जारी राखेको छ। नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेकाले सडक अवरुद्ध बनेको छ। उता बीपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा बाढीले डाइभर्सन बगाउनुका साथै पहिरो खसेकाले आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। कान्ति राजमार्गका चपली र तकुर्चेमा झरेको पहिरोले पनि यातायात पूर्ण रूपमा बन्द गराएको छ।
पूर्व–पश्चिम राजमार्गको मकवानपुरस्थित रजैयामा भने खसेको पहिरो हटाई सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ र दुईतर्फी नै खुलाउन मेसिन परिचालन गरिएको छ। मध्यपहाडी राजमार्गको बागलुङ खण्डमा पहिरो तथा ढलेका रुखहरू हटाएर बाटो एकतर्फी खुलाइएको छ। कालीगण्डकी करिडोरको म्याग्दीस्थित बैसेरी सिरुवारीमा निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ भने बेलबगरमा स्थानीय सवारीका लागि मात्र एकतर्फी बाटो खुला गरिएको छ।
यसैगरी राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोट र बेसीसहर–चामे सडकको खोत्रोमा ठूला ढुङ्गा खसेकाले सडक पूर्ण रूपमा बन्द भएका छन्। कर्णाली, तमोर, सिद्धिचरण र भालुवाङ–चकचके–लिवाङ सडक खण्डमा पनि पहिरो र नदीको बहावका कारण यातायात आंशिक रूपमा प्रभावित भएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अवरुद्ध भएका सबै राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउनका लागि प्रभावित क्षेत्रमा उपकरण र प्राविधिक टोली परिचालन गरी निरन्तर काम भइरहेको छ।
प्रतिक्रिया