• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • तुलसीलाल र भीमदत्तको विरासत अघि बढाउन केपी शर्मा ओलीको आग्रह

    तुलसीलाल र भीमदत्तको विरासत अघि बढाउन केपी शर्मा ओलीको आग्रह

    काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट एवम् किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले छाडेको क्रान्तिकारी विरासतलाई निरन्तरता दिन आग्रह गरेका छन्। अमात्य र पन्तको स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन्।

    श्रद्धाञ्जली सन्देशमा अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टीका तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक र सङ्गठनात्मक रूपमा सुदृढ बनाउन खेलेको भूमिकाको स्मरण गरेका छन्। सामन्ती भूस्वामित्वको समयमा अमात्यले ‘जसको जोत, उसको पोत’ भन्ने नाराका साथ किसानहरूलाई आफ्नो हक-अधिकारका लागि सङ्गठित हुन प्रेरित गरेको उल्लेख गर्दै ओलीले निरंकुशताविरुद्धको सङ्घर्ष र वामपन्थी आन्दोलनमा उनको योगदान सधैँ स्मरणीय रहने बताएका छन्।

    त्यसैगरी, सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा चर्चा गरिएको छ। पन्तले ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथ सुदूरपश्चिम क्षेत्रमा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको पक्षमा सशक्त आन्दोलनको नेतृत्व गरेको ओलीले उल्लेख गरेका छन्।

    २०१० साल साउन १७ गते किसान आन्दोलनलाई दबाउने उद्देश्यले पन्तको गोली हानी हत्या गरिएको र उनको टाउको छिनालेर सार्वजनिक रूपमा प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुःखद र अमानवीय अध्यायका रूपमा ओलीले स्मरण गरेका छन्।

    दुवै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको मुख्य स्रोत रहेको बताउँदै ओलीले लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्। उनले अमर शहीद भीमदत्त पन्त र नेता तुलसीलाल अमात्यप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनीहरूको योगदान नेपाली राजनीति र किसान आन्दोलनको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण भइरहने जनाएका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १७, आईतवार ०५:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP