• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • अख्तियारको साख गिराएको भन्दै सांसद अमरेशकुमार सिंहद्वारा प्रधानमन्त्रीको आलोचना

    अख्तियारको साख गिराएको भन्दै सांसद अमरेशकुमार सिंहद्वारा प्रधानमन्त्रीको आलोचना

    काठमाडौँ — स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साख गिराउने काम गरिरहेको आरोप लगाएका छन्। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री मातहतको निकाय नभएको स्मरण गराएका हुन्।

    सांसद सिंहले संसदीय निगरानी समिति भएकाले समितिको बैठकमा आउन मिल्ने तर मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारीहरू उनीहरूकहाँ धाउन नहुने बताए। प्रधानमन्त्री शाहले बोलाउँदा लिखित रूपमै माग गर्न अख्तियारका पदाधिकारीहरूलाई सचेत गराउँदै उनले अख्तियारको मर्यादा जोगाउन पदाधिकारीहरू स्वयंले हिम्मत राख्नुपर्नेमा जोड दिए।

    अख्तियारको गरिमा दिनप्रतिदिन खस्किनुमा प्रधानमन्त्रीको मुख्य भूमिका रहेको औँल्याउँदै सिंहले प्रश्न गरे, “प्रधानमन्त्रीकै नजरमा अख्तियारको कुनै महत्त्व छैन भने सांसद र आम नागरिकले यसको कदर किन गर्ने?”

    यस्तै, प्रधानमन्त्री शाहले अख्तियार प्रमुखलाई बोलाएर आफ्ना मान्छे भर्ती गराउन खोजेको गम्भीर आरोपसमेत उनले लगाए। संवैधानिक निकायमा यसरी हस्तक्षेप गर्न नमिल्ने भन्दै उनले सांसदहरूले पनि यसको निरन्तर निगरानी गरिरहेको बताए।

    गणतन्त्रमा प्रधानमन्त्री वा नागरिक सबै बराबर हुने उल्लेख गर्दै सांसद सिंहले भने, “प्रधानमन्त्री हुँदैमा कोही राजा हुँदैन र नागरिक हुँदैमा कोही प्रजा हुँदैन। गणतन्त्र आइसकेपछि राजा र प्रजाको व्यवस्था समाप्त भइसकेको छ।” उनले संवैधानिक निकायको मर्यादा जोगाउन अख्तियारका पदाधिकारीहरूलाई आफ्नो कर्तव्य निष्पक्ष रूपमा पालना गर्न आग्रह गरे।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ४, बिहीबार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP