• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • नेकपाद्वारा ३२ जनवर्गीय संगठनमा जिम्मेवारी बाँडफाँड: इन्चार्ज र सह–इन्चार्जको टुंगो (पूर्ण विवरण)

    नेकपाद्वारा ३२ जनवर्गीय संगठनमा जिम्मेवारी बाँडफाँड: इन्चार्ज र सह–इन्चार्जको टुंगो (पूर्ण विवरण)

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको सांगठनिक संरचनालाई मजबुत बनाउने उद्देश्यका साथ आफ्ना सबै जनवर्गीय संगठनहरूको नेतृत्व तहको टुंगो लगाएको छ। नेकपाको केन्द्रीय संयोजन समितिको पछिल्लो बैठकले पार्टी मातहत रहेका ३२ वटा जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्जहरू मनोनयन गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो।

    पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा जारी गरिएको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानी) मार्फत उक्त कार्यविभाजनको औपचारिक जानकारी दिइएको छ। यस निर्णयसँगै लामो समयदेखि नेतृत्वको पर्खाइमा रहेका जनवर्गीय संगठनहरूले पूर्णता पाएका छन् भने पार्टी कार्यकर्ता पंक्तिमा नयाँ उत्साह सञ्चार भएको छ।

    प्रमुख संगठनहरूको नेतृत्व

    नेकपाले कृषि, महिला र विद्यार्थी जस्ता आधारभूत संगठनहरूमा अनुभवी नेताहरूलाई जिम्मेवारी सुम्पेको छ। जसअनुसार अखिल नेपाल किसान महासंघको इन्चार्जमा बलदेव चौधरी र सह–इन्चार्जमा कुमार पौडेल तोकिनुभएको छ। त्यस्तै, अखिल नेपाल महिला संगठनको कमान्ड जयन्ती राई (इन्चार्ज) र कमला रोका (सह–इन्चार्ज) लाई दिइएको छ।

    विद्यार्थी राजनीतिमा प्रभावशाली मानिने विद्यार्थी संगठनको इन्चार्जमा रत्न ढकाल र सह–इन्चार्जमा सुदेश पराजुली चयन हुनुभएको छ भने युवा संगठनको नेतृत्व लक्ष्मण केसी (इन्चार्ज) तथा सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ (सह–इन्चार्ज) ले सम्हाल्नुहुनेछ।

    प्रेस र पेशागत फाँटको जिम्मेवारी

    पार्टीको वैचारिक प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रेस संगठनको इन्चार्जमा प्रकाश ज्वाला चयन हुनुभएको छ। उहाँलाई सहयोग गर्न विष्णु सापकोटा र शम्भु श्रेष्ठलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ। पेशागत महासंघको इन्चार्जमा कृष्णध्वज खड्का र सह–इन्चार्जमा प्रमेलकुमार खनाल रहनुभएको छ भने प्राध्यापक फाँटमा दीनानाथ शर्मालाई इन्चार्ज र प्रा.डा. इन्दु आचार्यलाई सह–इन्चार्ज बनाइएको छ।

    सामाजिक र जातीय मोर्चाहरू

    समावेशी चरित्रलाई आत्मसात गर्दै नेकपाले मधेसी संगठनको जिम्मेवारी जोगकुमार बरबरिया र रामचन्द्र साह तेलीलाई दिएको छ। मुस्लिम संगठनमा महेश्वर गहतराज इन्चार्ज तथा हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ सह–इन्चार्ज तोकिनुभएको छ। आदिवासी जनजाति महासंघको नेतृत्व सुरेश आले मगर र पासाङ शेर्पाले पाउनुभएको छ भने दलित संगठनको जिम्मेवारी गणेश विक र दलजित श्रीपालीको काँधमा आएको छ।

    क्षेत्रगत र प्राविधिक संगठनहरू

    • कानुन व्यवसायी: पूर्णबहादुर घर्ती (इन्चार्ज) र रामकुमार ज्ञवाली (सह–इन्चार्ज)।

    • इन्जिनियरर्स एसोसिएसन: लेखनाथ न्यौपाने (इन्चार्ज) र कपिल आचार्य (सह–इन्चार्ज)।

    • खेलकुद महासंघ: केशव विष्ट (इन्चार्ज) र शिव कोइराला (सह–इन्चार्ज)।

    • स्वास्थ्यकर्मी संगठन: अन्जना विशंखे (इन्चार्ज) र भक्तिमान सुब्बा (सह–इन्चार्ज)।

    • सहकारी संगठन: लिलामणि पौडेल (इन्चार्ज), शरद रसाईली र उदया शर्मा (सह–इन्चार्ज)।

    • आईटी फोरम: यो आधुनिक र प्रविधिमैत्री संगठनको जिम्मेवारी केशव नेपाललाई दिइएको छ।

    अन्य विशिष्ट संगठनहरू

    पार्टीले जनयुद्ध र जनआन्दोलनका घाइते तथा सहिद परिवारको संगठन सहिद बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्जमा हितराज पाण्डे र सह–इन्चार्जमा कृष्णप्रसाद सापकोटा एवं बालकृष्ण गैरेलाई तोकेको छ। सहिद प्रतिष्ठानको नेतृत्व धर्मशीला चापागाईंले पाउनुभएको छ।

    यसैगरी वैदेशिक रोजगारीबाट फर्किएकाहरूको संगठन नेपाल रिटर्नी एसोसिएसनमा देवेन्द्र पराजुली, सुकुम्वासी महासंघमा नहेन्द्र खड्का, र निर्माण व्यवसायी संगठनमा कमला रोकालाई मुख्य जिम्मेवारी दिइएको छ। उपभोक्ता हितको क्षेत्र हेर्ने जिम्मेवारी बीपी खनालले पाउनुभएको छ भने मानव अधिकार संगठनको नेतृत्व लेखनाथ दाहाललाई सुम्पिएको छ।

    यो बृहत् कार्यविभाजनले नेकपाको संगठनात्मक संरचनालाई पिरामिड शैलीमा परिचालन गर्न र आगामी राजनीतिक कार्यदिशा सफल पार्न मद्दत पुग्ने पार्टीले विश्वास लिएको छ। सबै जनवर्गीय संगठनहरूलाई तत्काल बैठक बसी आगामी योजना तय गर्न नेतृत्वले निर्देशन समेत दिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २७, आईतवार ०८:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP