रोल्पा, ३० साउन — अविरल वर्षासँगै आएको विनाशकारी पहिरोले रोल्पाको पूर्वी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। गत बुधबार र बिहीबार गएको पहिरोका कारण थबाङ र सुनछहरी गाउँपालिकामा गरी कुल १५ जनाले ज्यान गुमाएका छन् भने दुई जना अझै बेपत्ता छन्।
गत २७ गते बुधबार थबाङ गाउँपालिका-५ कोटलबारामा आएको भीषण पहिरोले एउटा सिंगो बस्ती नै बगाएको छ। पहिरोमा परेर ७ वर्षीय अशोक पुनमगर, १८ वर्षीया शान्ति पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६० वर्षीय कमलबहादुर पुनमगर, ६१ वर्षीय लिलबहादुर पुनमगर, ६६ वर्षीया मनी पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगर गरी ११ जनाको ज्यान गएको छ। पहिरोले थबाङमा ९ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना पूर्ण रूपमा बगाएको छ।
अकल्पनीय घटनापछि आफन्त र स्थानीयवासी गहिरो शोकमा छन्। मृतक अशोकका काका कृष्ण पुनमगरले अविरल वर्षा भइरहेका बेला मानिसहरू खाना खाँदै र सुत्ने तर्फारमा रहेकै अवस्थामा एक्कासी पहिरो आउँदा ठूलो क्षति भएको र यो पीडा कहिल्यै नमेटिने सुनाए।
यस्तै, पहिरोमा परेका ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी राखिएको छ भने घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
यता, थबाङको उद्धार कार्यमा जुटिरहेकै बेला छिमेकी सुनछहरी गाउँपालिका-२ फलबाङ्ग र गिट्ठेमा पनि पहिरोले क्षति पुर्याएको छ। पहिरोमा परेर फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेका ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको छ।
थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगर र सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विज्ञप्ति जारी गर्दै रोल्पाको दुःखद घटनाप्रति शोक व्यक्त गरेको छ।
प्रतिक्रिया