नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन्। एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ।
पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्लासत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको छ।
संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब पाँच सय स्वयंसेवक हुनेछन्। ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट माग गरिएको उनले बताए। एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय प्रतिनिधि रहनेछन्। महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुनेछ।
प्रतिक्रिया