काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबिच शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ। रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शाहलाई भेट्न प्रधानसेनापति सिग्देल केही बेरअघि सिंहदरबार पुग्नुभएको हो।
भेटघाटको पुष्टि गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले दुई प्रमुखबिच वार्ता जारी रहे पनि छलफलका मुख्य विषयबारे औपचारिक विवरण नदिइएको जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटवार्ताबारे विशेष जानकारी नभएको बताउँदै रक्षा मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका प्रधानमन्त्री र सेनापतिबिचको यो भेटलाई नियमित संवादका रूपमा अर्थ्याउनुभएको छ।
यसअघि गत साउन १९ गते पनि प्रधानमन्त्री शाह र सेनापति सिग्देलबिच भेटवार्ता भएको थियो। उक्त भेटका क्रममा गोकर्णस्थित नेपाल ट्रष्टको जग्गामा (जो सेनाको संरक्षणमा रहेको छ) सैनिक अधिकारीहरूको असहमति हुँदाहुँदै रास्वपाका सांसद राजु पाण्डेको नेतृत्वमा डोजर चलाइएको विषयमा छलफल भएको जनाइएको थियो। तत्कालीन समयमा सेनापतिले उक्त घटनाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको र त्यसलगत्तै सांसद पाण्डेले विज्ञप्ति जारी गरी आफ्नो तर्फबाट स्पष्टीकरण पेस गर्नुभएको थियो।
प्रतिक्रिया