काठमाडौँ — बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभाका सांसदहरूले सरकारको कडा आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने र पीडित परिवारलाई सहमति वा राहतको प्रलोभनभन्दा पूर्ण न्याय दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सरकार र पीडित पक्षबिच भएको सहमतिप्रति आपत्ति जनाइन्। सालिक ठड्याएर वा क्षणिक राहत दिएर बालिकाको जीवन फिर्ता नआउने उल्लेख गर्दै उनले भनिन्, “सडक तात्नेबित्तिकै मन्त्रीहरू आफैँ जुर्मुराउने र सहमतिपत्रमा हस्ताक्षर गरेर स्थानीय प्रशासनलाई निकम्मा बनाउने शैलीले राज्यप्रतिको जनविश्वास घटाइरहेको छ। यस्ता जघन्य अपराधका घटनामा मिलापत्र गराउने मतियारहरूलाई समेत हदैसम्मको कारबाही हुनुपर्छ।”
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले अपराधको गम्भीरता र प्रकृतिका आधारमा कडा सजायको व्यवस्था हुनुपर्ने बताइन्। पकेटमार र बलात्कारीलाई एउटै तराजुमा राखेर हेर्न नमिल्ने तर्क गर्दै उनले महिला हिंसा र बलात्कारका अपराधीलाई कडाभन्दा कडा कानुनी दायरामा ल्याएर सबै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले यो बर्बर घटनाले सिङ्गो राज्यलाई नै लज्जित बनाएको र सरकारलाई गम्भीर प्रश्नको घेरामा उभ्याएको टिप्पणी गरिन्। घरआँगनमै छोरीहरू असुरक्षित बन्नुपर्ने र न्यायका लागि सडकमा आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण स्थिति अन्त्य हुनुपर्ने भन्दै उनले पीडित परिवारलाई तत्काल न्याय र उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिन्।
प्रतिक्रिया