• २०८३ भाद्र १० | Wed, 26 Aug 2026

  • विपद व्यवस्थापन र कूटनीतिमा सरकार असफल, राज्यशक्तिको दुरुपयोग भयो: सांसद वर्षमान पुन

    विपद व्यवस्थापन र कूटनीतिमा सरकार असफल, राज्यशक्तिको दुरुपयोग भयो: सांसद वर्षमान पुन

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद वर्षमान पुनले मनसुनजन्य विपद् व्यवस्थापन, जनसरोकारका विषय र वैदेशिक नीतिका सवालमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुको साटो सरकारले राज्यशक्तिको दुरुपयोग गरिरहेको टिप्पणी गरे।

    विशेष समय लिएर बोल्दै सांसद पुनले उद्धार र राहतका लागि तयारी अवस्थामा राखिएका सेनाका हेलिकप्टर र स्काई ट्रक सामान्य रुघाखोकी लागेका मन्त्री बोक्न प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए। जाजरकोट, रोल्पा र बागलुङलगायतका जिल्लामा विपद्का कारण ठूलो क्षति भए पनि उद्धार, पुनर्स्थापना र पुनर्निर्माणको कार्य सुस्त रहेको उल्लेख गर्दै उनले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न र भूगर्भिक अध्ययन टोली खटाउन सरकारको ध्यानाकर्षण गराए। यस्तै गृहमन्त्री सुधन गुरुङ आफ्नै निर्वाचन क्षेत्रमा मात्रै व्यस्त रहेको आरोप लगाउँदै उनले देशभरको विपद्को अवस्था र राहत वितरणबारे सदनलाई तत्काल जानकारी गराउन माग गरे।

    सरकारले जनसेवाको सवालमा पुरानै प्रवृत्ति दोहोर्‍याएको टिप्पणी गर्दै उनले नयाँ शक्तिहरू सरकारमा जाँदा पनि ग्यास, मल र राहदानी (पासपोर्ट) का लागि जनता घण्टौँ लाइन बस्नुपर्ने बाध्यता कायमै रहेको बताए। परराष्ट्र नीतिको प्रसङ्गमा बोल्दै पुनले सरकारले असंलग्न परराष्ट्र नीतिविपरीत अपरिपक्वता र दोहोरो चरित्र देखाएको आरोप लगाए। तिब्बत र दलाई लामाका सम्बन्धमा सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रिय स्तरमा देशको स्वाधिनतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो।

    सोही क्रममा सांसद पुनले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संविधानको धारा ५ र २६ बमोजिम तत्काल नयाँ कानुन निर्माण गर्न सरकारका नाममा रुलिङ जारी गर्न सभामुखसँग माग गरे। धर्मलाई राजनीतिक हतियार बनाउने स्वार्थ समूहहरू सक्रिय रहेको भन्दै सरकारले यस्ता विषयमा शून्य सहनशीलताको नीति लिनुपर्नेमा उनले जोड दिए।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २, मंगलवार ०८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP