• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको कोटा सुनिश्चित: ६ पदका लागि प्रवासका नेताहरूबिच तीव्र प्रतिस्पर्धा

    कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको कोटा सुनिश्चित: ६ पदका लागि प्रवासका नेताहरूबिच तीव्र प्रतिस्पर्धा

    नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि केन्द्रीय सदस्य बन्ने बाटो खुला गरेपछि प्रवासमा रहेका पार्टी नेताहरूबीच केन्द्रीय पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। कांग्रेसको संशोधित व्यवस्था अनुसार जनसम्पर्क समितिका लागि कुल ६ वटा केन्द्रीय सदस्य कोटा छुट्याइएको छ। जसअन्तर्गत विश्वका पाँच महादेशबाट एक–एक जना र बाँकी एक पद महिलाका लागि सुरक्षित गरिएको छ। नयाँ मापदण्ड अनुसार भारत, एसिया, युरोप, मध्यपूर्व, अमेरिका–क्यानडा–अस्ट्रेलिया क्षेत्रबाट एक–एक जना तथा महिला कोटाबाट एक जना चयन हुनेछन्।

    केन्द्रीय सदस्यको यो कोटा निश्चित भएसँगै विभिन्न महादेश र देशमा रहेका प्रमुख प्रवासी नेताहरूले आ–आफ्नो उम्मेदवारी घोषणा र तयारीलाई तीव्रता दिएका छन्। भारतबाट जनसम्पर्क समितिका पूर्वसभापति बालकृष्ण पाण्डे तथा युरोप क्षेत्रबाट बेल्जियमकी पूर्वसभापति सीता सापकोटाले उम्मेदवारीको तयारी र घोषणा गरिसकेका छन्। युरोपबाटै आयरल्यान्डका अंकित ओली, जर्मनीका टंक लम्साल र विजय मोक्तान, बेलायतका विश्व आदर्श पण्डित, नेदरल्यान्ड्सका शालिक गौतम र स्पेनका इन्द्र शर्मा अधिकारीले दाबी प्रस्तुत गरेका छन्।

    यस्तै एसिया क्षेत्रबाट जापानका नारायण सुवेदी, मलेसियाका विनोद थापा तथा दक्षिण कोरियाका पूर्वअध्यक्षद्वय गिरिराज कुँवर र नवराज सिवाकोटी प्रतिस्पर्धामा उत्रिएका छन्। मध्यपूर्व क्षेत्रबाट कतारका राज रेग्मी र विमल सुवेदी, यूएईका खेमराज बस्नेत र बहराइनका पदमसुन्दर गुरुङ आकांक्षी देखिएका छन् भने अमेरिका क्षेत्रबाट गैरआवासीय नेपाली संघकी पूर्वअध्यक्ष रविना थापा मुख्य दाबेदारका रूपमा अगाडि बढेकी छन्।

    विशेष गरी जनसम्पर्क समितिका वर्तमान अध्यक्ष तथा पदाधिकारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नपाउने प्रावधानका कारण कतिपय बहालवाला नेताहरू भने प्रतिस्पर्धाबाट पछि हटेका छन्। संशोधित विधानले जनसम्पर्क समितिको नेतृत्व वा प्रतिनिधि बन्न क्रियाशील नेपाली नागरिक हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

    महाधिवेशन प्रतिनिधिको सङ्ख्या पनि समितिको सदस्यता आधारमा तोकिएको छ, जस अनुसार कम्तीमा १०० सदस्य भएको देशबाट २ जना, ५०० भन्दा बढी सदस्य भएकोबाट ७ जना र २,००० भन्दा बढी सदस्य भएका ठूला जनसम्पर्क समितिबाट सभापतिसहित १४ जनासम्म महाधिवेशन प्रतिनिधि चयन हुन पाउनेछन्। हाल विश्वका ३७ देशहरूमा नेपाली कांग्रेसका जनसम्पर्क समितिहरू सक्रिय रहेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन १८, आईतवार ०९:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP