सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको संयुक्त टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ, नातेदार र घरमा काम गर्ने व्यक्तिको निवासमा समेत छापा मारेको छ।
स्रोतका अनुसार विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा, दूरसञ्चार व्यवसायी दिपक तिमल्सिना, उच्च अदालतका पूर्वन्यायाधीश नवराज थपलिया र नारायण दाहालको घरमा पुगेर विस्तृत खानतलासी गरिरहेको छ। यसका साथै जबराका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नाता पर्ने नवीन बस्नेत तथा उनका कामदारको घरमा समेत छापा मारिएको जनाइएको छ। जबरामार्फत अवैध सम्पत्ति लुकाइएको आशङ्कामा यो कारबाही अघि बढाइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले जानकारी दिएका छन्।
यसअघि गत असोज १० गते राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो। १२ घण्टा प्रहरी हिरासतमा राखेर असोज ११ गते छाडिएका जबराका विषयमा प्रहरीले भने सुरक्षाका कारण उनलाई कार्यालय लगिएको दाबी गरेको थियो।
२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बित भएका उनी संसदबाट प्रस्ताव पारित नभए पनि सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बनकै अवस्थामा उनको कार्यकाल सकिएको थियो।
प्रतिक्रिया