• २०८२ पुष २२ | Tue, 06 Jan 2026

  • ‘मलाई मार्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको हत्या हत्या आरोपमा सासु र नन्द प्रहरी नियन्त्रणमा

    ‘मलाई मार्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको हत्या हत्या आरोपमा सासु र नन्द प्रहरी नियन्त्रणमा

    सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको आगलागीमा परेर मृत्यु भयो। गत आइतबार दिउँसो ४ बजेतिर घरको भान्सामा भएको आगलागीमा परेर उनको घटनास्थलमै ज्यान गयो। बुहारीको शरीरमा आगो लागेको देखेपछि निभाउने कोसिस गर्दा सुशीलाका ससुरा दुर्गामान बोम्जन पनि घाइते भए।

    मृतक सुशीलाको माइती पक्ष सरिता स्याङतानका अनुसार सुशीलाले सोही दिन दिउँसो माइतमा फोन गरेकी थिइन्। केही वर्षदेखि घर परिवारबाट पीडा खेप्दै आएकी उनले बिहान ९ बजेतिर आमा बुद्धिमाया घिसिङसँग रुँदै फोनमा कुरा गरेकी थिइन्।

    ‘आमा मलाई लिन आउनु। आज तँलाई मार्ने नै हो भनिरहेका छन्। मलाई डर लागिरहेको छ,’ सुशीलाको भनाइ उदृत गर्दै सरिताले नेपालखबरसँग भनिन्।

    उताबाट सुशीलालाई सम्झाउँदै बुद्धिमायाले भनिन्, ‘त्यस्तो केही हुँदैन। आज एकदिन बस। भोलि बुवालाई लिन पठाउँछु। त्यही पनि मामाले त्यस्तो गर्दैन। नडराउन।’ छोरीसँग कुरा भएपछि त्यसको भोलिपल्ट सुशीलालाई लिन जाने माइती पक्षको तयारी थियो।

    यता, घरपरिवारको व्यवहारले अत्तालिएकी सुशीलाले सोही कुरा आफ्नी बहिनी सन्दी घिसिङसँग पनि सेयर गरेकी थिइन्। माइतमा दाइ भाइजूलाई पनि आफूलाई मार्छु भन्ने धम्की आइरहेको भन्दै फोनमा कुराकानी भएको सुशीलाकी भाउजू निर्मला स्याङतान बताउँछिन्। तर सबैजनाले सल्लाह गरेर भोलिपल्ट बिहानै लिन जाने तयारीमा थिए।

    ‘भाञ्जा भाञ्जीहरू स्कुल गएका थिए। बच्चाहरू छोडेर ल्याउने कुरा पनि भएन,’ निर्मलाकी बहिनी सरिताले भनिन्, ‘त्यही भनेर दिदी भिजानुहरू लिन आउनु भएन। दिउँसो त यस्तो घटना भएछ।’

    सोही दिन दिउँसो विद्यालय गएका छोराछोरीलाई घर ल्याएर सुशीलाले खाजा खुवाइन्। खाजा खुवाइसकेपछि बच्चाहरूलाई ट्युसन पुर्‍याएर उनी घर फर्किन्। घरको भान्सामा पसेकी सुशीलाको शरीरमा एक्कासी आगो लाग्यो। सुशीलाकी नन्द मीना भान्सा कोठामै सुत्थिन्। आफू सुत्ने खाटमा बसिरहेकी मीनाले भाउजू पस्ने बित्तिकै उनको शरीरमा पेट्रोल खन्याइन्। हत्तपत्त लाइटर बालिन् र आफू बाहिर निस्किएर कोठाको बाहिरबाट चुकुल लगाइन्।

    सुशीलाकी सासु मायारानीले माथिल्लो तलाको च्यानल गेटमा ताला लगाइन्। साढे दुईतल्ले घरमा बस्ने उनीहरूले पहिलो तला भाडामा दिएर दोस्रो तलामा बस्दै आएका थिए। छिमेकीहरूका अनुसार सुशीलाले हार गुहार गरेको सुनेपछि उक्त घरमा पुग्दा मेनगेटमा पनि ताला लगाइएको थियो।

    सासु, नन्द र ससुरा घरको गल्लीमा थिए। छिमेकी पुग्ने बित्तिकै सुशीलाका ससुरा दुर्गामानले हत्तपत्त बुहारी भएको कोठाको ढोका खोले। सोही क्रममा सुशीलाको शरीरमा लागेको आगोको लप्काले दुर्गामानको हातमा पोलेको थियो।

    यता, छिमेकीहरूले कराउन थालेपछि सुशीलाकी सासु मायारानीले मेन गेटको ताल्चा खोलेको बताइएको छ। ताला खोलेर घरभित्र पुग्दा सुशीलाको घटनास्थलमै मृत्यु भैसकेको अवस्थामा फेला परेकी थिइन्।

    घरभित्रै आगलागीमा परेर सुशीलाको ज्यान गएपछि सिन्धुली प्रहरीले घटनाको अनुसन्धान सुरु गर्‍यो। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सुशीलाले आत्मादाह नगरेको ठहरमा प्रहरी पुग्यो। भान्सा कोठाको एउटा कुनामा पेट्रोलको गन्ध आउने रित्तो बोटल र डस्बिनमा लाइटर भेटेपछि प्रहरीले सुशीलाको हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको थियो।

    मीनाले भाउजूको हत्या गर्ने योजना बिहानैदेखि बनाएको पाइएको छ। घर नजिकैको पसलबाट उनले ५ लिटर पेट्रोल किनेर लगेको खुलेको छ। घटना घटेपछि उनले भाउजूको हत्या गर्ने प्रायोजनमा ५ लिटर पेट्रोल किनेको खुलेको हो। प्रहरीको अनुसन्धानको क्रममा मीनाले भाउजूको हत्या आफैंले गरेको भन्ने स्वीकार गरेको बताइएको छ।

    त्यसमा परिवारको सबैको साथ रहेको मीनाले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइनेछ।

    त्यसोत, सुशीलाको बिवाह आफ्नै मामाको छोरा सूर्य बोम्जनसँग भएको थियो। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि २ वर्षदेखि कोरियामा छन्। सुशीलाको हत्यामा श्रीमान्कै समेत साथ रहेको मीनाले प्रहरी समक्ष बताएकी छिन्। यसअघि पनि सुशीलाले पटक/पटक हिंसा सहँदै आएको माइती पक्षको भनाइ छ।

    सोही आधारमा आफ्नी छोरीको हत्या सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनले नै गरेको भन्दै सुशीलाका बावु प्रेम बहादुर घिसिङले प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीको आधारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सासु मायारानी र नन्द मीनालाई सोही साँझ नियन्त्रणमा लिएको हो। दुर्गामानको भने प्रहरीको निगरानीमा उपचार भैरहेको बताइएको छ।

    पक्राउ परेका दुवै जनालाई सिन्धुली जिल्ला अदालतबाट सोमबार (हिजो) ५ दिन म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    सुशीलाको तीनजना तीम्ल्याहा दुई छोरा र एक छोरी छन्। उक्त घटना पश्चात् उनीहरूलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ मा रहेको मामाघरमा राखिएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ९, बुधबार ०८:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP