• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • पाँच महिनामा १८ अर्ब २६ करोडको बिजुली निर्यात

    पाँच महिनामा १८ अर्ब २६ करोडको बिजुली निर्यात

    चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा भारत र बंगलादेशमा नेपालबाट १८ अर्ब २६ करोड ७० लाख रुपैयाँको बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि मंसिरसम्म दुई हजार ७१४ गिगावाट आवर विद्युत् निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा भने १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो ।

    सुक्खायामका कारण उत्पादन घटेपछि गत आवको पुसको पहिलो साताबाट निर्यात स्थगन गरेर आयात सुरु गरिएको थियो । यो वर्ष पनि पुस लागेसँगै आंशिक मात्रै निर्यात भएको छ । आयात भने गत मंसिर तेस्रो सातादेखि नै भइरहेको छ । अहिले चार सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ ।निर्यात हुने बिजुलीको परिमाण बढेसँगै आम्दानी पनि बढेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

    गत वर्ष भारतमा आठ–नौ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भएको थियो । गत वर्ष बंगलादेशतर्फ कात्तिक ३० गते मात्रै ४० मेगावाट विद्युत् निर्यात भएको थियो । यसपालि पूर्वसम्झौताअनुसार नै बंगलादेशमा असार १ देखि कात्तिक ३० गतेसम्म निर्बाध रूपमा ४० मेगावाट विद्युत् निर्यात भयो । त्योबाहेक भारतीय बजारमा १२ सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । यसरी निर्यात गरिने विद्युत्को परिमाण बढेपछि आम्दानी पनि बढेको प्रवक्ता ढकालले बताए ।आन्तरिक उत्पादन घटेसँगै प्राधिकरणले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको छ । अहिले आवश्यक परेका वेलामा भारतबाट चार सय मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणका एक अधिकारीले बताए ।

    ‘अहिले विद्युत्को माग २१–२२ सय मेगावाटसम्म छ । उत्पादन पनि दुई हजार मेगावाट हाराहारीमा छ । भारतमा सस्तो हुँदा विद्युत् आयात गरेर खोलामा पानी जम्मा गर्छाैँ । भारतमा बिजुली महँगो भएका वेला आन्तरिक उत्पादन बढाउँछौँ,’ स्रोतले भन्यो, ‘कुनै वेला विद्युत् आयात र कुनै वेला आंशिक निर्यात हुने गरेको छ । निर्यातभन्दा आयात नै धेरै छ । उत्पादन घट्दै गएका कारण सम्भवतः अबको केही दिनमा विद्युत् निर्यात रोकिन्छ । आयात भने निरन्तर रहन्छ ।’

    नेपालका अधिकांश जलविद्युत् आयोजना नदीप्रवाह (आरओआर)मा आधारित छन् । त्योअनुसार बर्सातमा खोलामा पानी बढी हुँदा विद्युत् उत्पादन पनि बढी हुन्छ, जुन समयमा भारतमा बिजुली निर्यातसमेत गर्न सकिन्छ । हिउँदमा खोलामा पानी कम हुँदा भने विद्युत् उत्पादन पनि स्वतः कम हुन्छ, त्यसवेला भने यहाँको माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ ।

    बंगलादेशमा ९४ लाख ३६ हजार डलरको बिजुली बिक्री
    यो वर्ष बंगलादेशबाट विद्युत् बिक्री गरेर ९४ लाख ३६ हजार डलर आम्दानी भएको छ । प्राधिकरणले जुन १५ देखि १५ नोभेम्बर (असारदेखि कात्तिक)सम्म ४० मेगावाट विद्युत् निर्बाध रूपमा दिने गरी बंगलादेशसँग सम्झौता गरेको थियो । त्यसमा नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउनेछ । यो वर्ष असारदेखि कात्तिकसम्म १४७.४३ गिगावाट आवर अर्थात् १४ करोड ७४ लाख ३० हजार युनिट बिजुली निर्यात भएको छ । त्यसबापत ९४ लाख ३६ हजार डलर आम्दानी भएको प्रवक्ता ढकालले बताए । योसहित मंसिरसम्म विद्युत् निर्यातबाट १८ अर्ब २६ करोड ७० लाख रुपैयाँ आम्दानी भएको हो ।

    गत वर्ष ३० कात्तिकमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दा २९ हजार डलर आम्दानी भएको थियो । गत मंसिर दोस्रो साता बंगलादेशमा सम्पन्न संयुक्त ऊर्जासचिवस्तरीय बैठकमा नेपालबाट थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । त्यो कार्यान्वयन भएपछि बंगलादेशमा कुल ६० मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष १८, शुक्रबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP