• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • टिकटकबाट सुरु भएको विवादले वीरगन्ज तनावग्रस्त, ८ जिल्लामा ‘हाई अलर्ट’

    टिकटकबाट सुरु भएको विवादले वीरगन्ज तनावग्रस्त, ८ जिल्लामा ‘हाई अलर्ट’

    आइतबार बिहानैदेखि वीरगन्जको स्थिति तनावग्रस्त भएपछि प्रदेशका ८ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। झडप हुन सक्ने सम्भावित स्थान पहिचान गरी ती क्षेत्रमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ।

    टिकटकबाट सुरु भएको विवाद धनुषाबाट वीरगन्ज सरेपछि सुरक्षा सतकर्ता बढाइएको हो। केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले एउटा विवादस्पद भिडिओ टिकटकमा अपलोड गरेका थिए। उक्त भिडिओले धार्मिक सहिष्णुता बिगारेको भन्दै स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।

    यस विषयमा इलाका प्रहरी कार्यालय, खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध गर्ने र पक्राउको समर्थन समूहबीच झडप भएको थियो। यो विवाद केन्द्र धनुषाको खजुरी र जनकपुर क्षेत्र हो।

    यो घटनाको विरोध र समर्थनमा सामाजिक सञ्जालमा भइरहेका बहसले वीरगन्जका युवा आन्दोलित भएका हुन्। आइतबार बिहानैदेखि वीरगन्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाले टायर बालेर प्रदर्शन गरेका छन्।

    ‘स्थिति नियन्त्रणमा लिन वीरगन्जमा प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो’, नेपाल प्रहरी, मधेश प्रदेश प्रमुख डीआईजी गोविन्द थपलियाले नेपालखबरसँग भने, ‘सुरक्षा चुनौती बढेपछि प्रदेशभरि नै सुरक्षा सतर्कता बढाइएको छ।’

    धनुषा र पर्सामा देखिएको अशान्तिको विषय टिकटकबाट फैलिएको हो। सामाजिक सञ्जालमा व्यक्त विषयले धार्मिक, साम्प्रदायिक भावनामा चोट पुर्‍याएपछि दुवै पक्ष सडकमा उत्रिएका हुन्।

    नेपाल प्रहरी मधेस प्रदेशका प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार अहिले स्थिति नियन्त्रणमा छ। घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। ‘स्थानीय धार्मिक समुदाय, राजनीतिक दलसहितसँग समन्वय गरी सामाजिक सद्भाव नबिथोल्न अपिल गरिरहेका छाैँ’, डीआईजी थपलियाले नेपालखबरसँग भने, ‘झडप हुनसक्ने सम्भावित ठाउँ पहिचान गरी ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।’



    radiomirmire radiomirmire    
  • २०८२ पुष २०, आईतवार ०७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP