पार्टी विधानको धारा ४३ अनुसार केन्द्रीय समितिको म्याद थप गर्ने र नियमित महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव आयो । केन्द्रीय कार्यसम्पादन समितिको बहुमतबाट पारित त गरियो, तर यसमा हाम्रो फरक मत रह्यो । आफूलाई मन परेकोमा विधान लागू गर्ने र मन नपरेको विधान लागू नहुने भन्ने हुँदैन । पार्टी विधानको धारा १७ (२)ले विशेष महाधिवेशन मन लाग्दा बोलाउने, मन नलाग्दा नबोलाउने भन्ने हुँदैन । यो छनोटको विषय होइन । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर पार्टीमा बुझाएको समय (९० दिन) पुस २८–२९ मा सकिन्छ । यो अवधिभित्र विशेष महाधिवेशन गर्दिनँ भन्न पाइँदैन । विशेष महाधिवेशनमा जानुपर्छ भन्ने धारणासहित वैशाखमा महाधिवेशन गर्ने प्रस्तावमा फरक मत राख्यौँ ।
अब एक–दुई दिन समय छ । विशेष महाधिवेशनबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । यो उत्तम हुन्छ । किनभने विधानको अधिकारलाई उल्लंघन गर्न पाइँदैन । पार्टी सभापति र केन्द्रीय समितिलाई हाम्रो अनुरोध छ र माग पनि गर्छु– केन्द्रीय कार्यसमितिले निर्णय गरेन भने विधानको धारा १७ (२) पालना हामी गर्छौँ । केन्द्रीय समितिले निर्णय गर्दैन भने केन्द्रीय कार्यालयका रूपमा महामन्त्रीले पुसभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ । केन्द्रीय समितिले गरोस् वा केन्द्रीय कार्यालय (महामन्त्री)ले गरोस् विशेष महाधिवेशन हुन्छ । केन्द्रीय कार्यसम्पादन समितिले वैशाखमा महाधिवेशनको निर्णय गर्यो भनेर अब घर गएर सुत्ने होइन । केही दिनभित्रै विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्न म आह्वान गर्छु ।
विशेष महाधिवेशनको कार्यविधि केन्द्रीय कार्यसमितिले बनाउने र विशेष महाधिवेशनले पारित गर्ने हो । यदि यो भएन भने विशेष महाधिवेशन आफैँले कार्यविधि बनाउँछ र पारित गरेर अघि बढ्छ । यो विशेष महाधिवेशनको कार्यक्षेत्रलाई कसैले अतिक्रमण गर्न पाउँदैन, मैले पाउने कुरा हुँदैन ।
नेपाली कांग्रेसको अवस्था सजिलो छैन । भदौ २३–२४ अघि र पछिको परिस्थिति एउटै होइन । तर, एउटै भएजस्तो गरिएको छ । यो फरक परिस्थिति हो । हामी जस्तोसुकै परिस्थितिमा पार्टी फुट्न दिँदैनौँ, पार्टी फुट्दैन । पार्टी फुट्छ भने विधानको धारा १७ (२) किन लेखेको त ?
हामीले असोजमा प्रस्ताव गरेका वेला महाधिवेशन गरेको भए एमालेभन्दा पहिला नै सानदार रूपमा महाधिवेशन गरिसकेका हुन्थ्यौँ । ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी विधानअनुसार माग गरेको विषयमा अहिले दादागिरी गर्न पाइन्छ ? अब विशेष महाधिवेशन सभापतिले डाक्नुहुन्छ र उहाँ आउनुहुन्छ भन्ने विश्वास छ । यदि भएन भने केन्द्रीय कार्यालयले आह्वान गर्छ । केन्द्रीय कार्यालय भनेको महामन्त्री हो । अर्का महामन्त्री (विश्वप्रकाश शर्मा)को समेत जिम्मा लिएर भन्छु– हामी विशेष महाधिवेशनको मागमा प्रतिबद्ध छौँ । यतिवेला कांग्रेस गम्भीर मोडमा पुगेको छ । अहिले नै पार्टी फुट्ला भनेर अनुमान गर्न गाह्रो छ । सभापति शेरबहादुर देउवाले बुद्धि पुर्याएर प्रयास गरे भने पार्टी जोगिएला । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू पछि हट्ने सम्भावना देख्दिनँ ।
जेन–जी आन्दोलनसँगै बदलिएको परिस्थितिमा उनीहरूले लिएको अडान ठिक छ । वैशाखमा महाधिवेशन गर्ने निर्णय देउवाकै इसारामा भएको अस्वीकार गर्न सकिन्न । तर, उनी बैठकमा नभएको र निर्णय प्रक्रियामा प्रत्यक्ष नदेखिएको हुनाले उनको भूमिका अब निर्णायक हुने मैले देखेको छु । उनले चाहे भने मिलाउन सक्लान् । अर्को यथार्थ के हो भने कांग्रेसको यो लडाइँ टिकट र पदका लागि हो ।
एमालेमा केपी ओलीले जे गरे, कांग्रेस त्यही बाटोमा जानुहुँदैन । बहुदलीय प्रजातन्त्रमा पार्टीहरूको फुट र एकतालाई पनि अन्यथा लिनुहुँदैन । बिपी र मातृकाप्रसाद कोइराला पनि विगतमा फुटेकै हुन् ।
भारतमा पनि इन्दिरा गान्धीले भारतीय राष्ट्रिय कंग्रेस विभाजन गरेकै थिइन् । राजनीतिमा यस्तो भइरहन्छ । देउवाले बुद्धि पुर्याउने हो भने महामन्त्रीद्वयले लिएको लाइनका आधारमा अघि बढ्नु राम्रो हुन्छ, यसले नै कांग्रेस बचाउनेछ ।
प्रतिक्रिया