कांग्रेस केन्द्रीय समिति बैठकमा एक महिनादेखि पार्टीको पन्ध्रौँ महाधिवेशनको मिति अनिर्णीत बनेपछि सभापति शेरबहादुर देउवा अन्तिम टुंगो लगाउन सक्रिय बनेका छन् । सक्रिय राजनीतिबाट सन्न्यास लिएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिए पनि उनले इतर पक्षलाई समेत विश्वासमा लिएर महाधिवेशनको मिति टुंंग्याउन नसकेपछि सिंगापुरमा उपचार गराएर फर्किएका देउवा शनिबारबाटै सक्रिय बनेका हुन् ।
दुई दिनकै बिचमा उनले कार्यवाहक सभापति खड्का, महामन्त्री विश्वप्रकाश शर्मासहित केही पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूसँग अलग–अलग र सामूहिक भेट गरेर सुझाव लिएका छन् । त्यसक्रममा देउवाले तत्कालका लागि चुनावी तयारीमा पार्टीलाई लैजाने गरी महाधिवेशनको मितिसम्बन्धी प्रस्तावको गृहकार्य गर्न खड्कालाई निर्देशन दिएका छन् ।
तर, विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले बुझाएको हस्ताक्षर बेवास्ता गरेर बहुमतको बलमा कार्यतालिका पास गर्न खोजे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अलग्गै महाधिवेशन प्रतिनिधिको भेला बोलाउने र विद्रोह गर्ने चेतावनी दिएका छन् । आइतबार चुनदेवीस्थित निवासमा पुगेर देउवालाई भेटेका महामन्त्री शर्माले विशेष महाधिवेशनको माग सम्बोधन हुने गरी चुनावअगावै नियमित महाधिवेशन नगरिए पार्टी सदस्यहरूको अपमान हुने भन्दै अन्यथा राजीनामा दिने चेतावनी दिएका हुन् ।
शर्माले पछिल्लो एक महिनादेखि जारी केन्द्रीय समिति बैठकमा उठेका बहसबारे जानकारी गराउँदै विशेष महाधिवेशनको माग सम्बोधन हुनैपर्नेमा जोड दिएका थिए । पार्टी विधानको धारा १७ (२) स्मरण गराउँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा रहेको बताएका थिए । सो धारामा न्यूनतम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र केन्द्रीय समितिले निर्णय गरेर बोलाइसक्नुपर्ने बाध्यकारी व्यवस्था छ । २९ असोजमा विशेष महाधिवेशनका लागि लिखित माग पेस गरिएको हुँदा तीनमहिने अवधि २८ पुसमा सकिनेछ ।
‘समयमै नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनको माग सम्बोधन गर्नुपर्छ,’ शर्माको भनाइ थियो, ‘विधानअनुसार नहुने हो भने त्यसको साक्षी बनेर बस्दिनँ । मैले आमकार्यकर्ताको भावना र विधानबमोजिम निर्णय लिनुपर्ने हुन्छ । बरु मलाई तत्काल लागू हुने गरी महामन्त्री पदबाट भूपूमहामन्त्री बनाइदिँदा हुन्छ ।’
शर्माले चेतावनीयुक्त भाषा प्रयोग गरेपछि देउवाले आफूले फर्किएलगत्तै सबैसँग परामर्श गरिरहेको जानकारी गराउँदै देशको परिस्थिति, केन्द्रीय समितिमा व्यक्त भावनालगायत सबै कुरालाई विचार गरेर निर्णयमा पुग्नुपर्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए । महामन्त्री शर्माले देउवासँग भएको कुराकानी टेलिफोनमार्फत कार्यवाहक सभापति खड्कालाई पनि जानकारी गराइसकेका छन् ।
देउवाले शनिबार कार्यवाहक सभापति खड्कासहित ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, एनपी साउदलगायत नेताहरूसँग भेटेका थिए । पार्टी प्रवक्तासमेत रहेका नेता महतले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भेट गरेको बताए । उनले महाधिवेशन मितिमा केन्द्रित रहेर देउवाले चासो राखेको जानकारी गराउँदै सबैसँग सल्लाह गरेर सहमतिमै प्रस्ताव पारित गर्ने पक्षमा रहेको बताए । ‘सिंगापुरबाट फर्किएपछि उहाँले सबैसँग भेटेर लगातार छलफल गरिरहनुभएको छ, उहाँको चासो र सरोकार सहमतिमै महाधिवेशनको कार्यतालिका पास गरौँ भन्ने हो,’ महतले भने, ‘अहिले सहमति जुटाउने गरी नै कोसिस भइरहेको छ, तर त्यो पनि सफल हुन्छ कि हुन्न अहिल्यै भनिहाल्ने अवस्था छैन ।’
महामन्त्री थापा र शर्माले नियमित महाधिवेशन १६ देखि १९ पुससम्म गर्न नसके विशेष महाधिवेशन हुनुपर्ने पक्षमा अडान लिँदै आएका छन् । त्यसअनुसार नै केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले १५औँ महाधिवेशनको कार्यतालिका प्रस्तावसमेत गरेका थिए । तर, संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले २१ फागुनमा संसद्को चुनाव सम्पन्न भएपछि आगामी २७ देखि २९ वैशाखमा आयोजना गर्ने गरी महाधिवेशनको कार्यतालिका पेस गरेका थिए । तर, दुवै मितिमा अहिलेसम्म सहमति हुन सकेको छैन ।
केन्द्रीय समितिको बैठकमा चुनावपछि महाधिवेशन हुनुपर्नेमा संस्थापनका शीर्ष नेताहरूले जोड दिइरहेका छन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले भने महामन्त्रीद्वयकै प्रस्तावको पक्षमा साथ दिइरहेका छन् ।
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
महाधिवेशनको विषयमा नेताहरूबिच सहमति नजुटेपछि सोमबारका लागि डाकेको केन्द्रीय समिति बैठक फेरि सरेको छ । सोमबारका लागि बोलाइएको बैठक अब बिहीबार बस्ने गरी बोलाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार राति विज्ञप्ति जारी केन्द्रीय समितिको मिति परिवर्तन भएको जानकारी गराएका हुन् । अब कांग्रेस बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
यसअघि शनिबार डाकिएको बैठक स्थगित गरी सोमबार बस्ने गरी मिति परिवर्तन गरिएको थियो । बिहीबारको बैठकमा सर्वसम्मत रूपमा महाधिवेशनको कार्यतालिका आउने सम्भावना छ । कांग्रेसमा सभापतिको अनुमतिमा महामन्त्रीले महाधिवेशनको कार्यतालिका पेस गर्ने व्यवस्था छ । तर, सभापति देउवाले कार्यवाहक सभापति खड्कालाई नै महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिएका छन् ।विश्वप्रकाश शर्मा, महामन्त्री
समयमै नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनको माग सम्बोधन गर्नुपर्छ । विधानअनुसार नहुने हो भने त्यसको साक्षी बनेर बस्दिनँ । मैले आमकार्यकर्ताको भावना र विधानबमोजिम निर्णय लिनुपर्ने हुन्छ । बरु मलाई तत्काल लागू हुने गरी महामन्त्री पदबाट भूपूमहामन्त्री बनाइदिँदा हुन्छ ।
डा. प्रकाशशरण महत, प्रवक्ता
सिंगापुरबाट फर्किएपछि उहाँ (देउवा)ले सबैसँग भेटेर लगातार छलफल गरिरहनुभएको छ, उहाँको चासो र सरोकार सहमतिमै महाधिवेशनको कार्यतालिका पास गरौँ भन्ने हो । अहिले सहमति जुटाउने गरी नै कोसिस भइरहेको छ, तर त्यो पनि सफल हुन्छ कि हुन्न अहिल्यै भनिहाल्ने अवस्था छैन ।
प्रतिक्रिया