• २०८३ बैशाख ४ | Fri, 17 Apr 2026

  • १५ पटक सगरमाथाको सफल आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पासहित सातजना यलुङ री हिमालमा बेपत्ता

    १५ पटक सगरमाथाको सफल आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पासहित सातजना यलुङ री हिमालमा बेपत्ता

    दोलखाको रोल्वालिङ हिमशृंखलाको ‘यलुङ री’ हिमालमा गएको हिमपहिरोमा परेर विश्वकीर्तिमानधारी युवा आरोही फुर्वा तेन्जिङ शेर्पासहित सातजना बेपत्ता भएका छन् । उक्त दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने चारजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । गौरीशंकर गाउँपालिका– ९, बेदिङनिवासी २४ वर्षीय शेर्पाले १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका थिए । २४ वर्षको उमेरमै नाैपटक सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका फुर्वा तेन्जिङ विख्यात युवा आरोही मानिन्छन् ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महताेका अनुसार ड्रिम्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा तीन विदेशी, पाँच नेपाली टुरिस्ट गाइड र केही स्थानीय गाइडसहित १४ जना यलुङ री हिमाल आरोहणका लागि पुगेका थिए । हिमपहिरोमा परेर तीमध्ये सातजना सम्पर्कविहीन भएका छन् ।

    प्रहरीका अनुसार घटनास्थलमा सोमबार बिहान गएको भीषण हिमपहिरोले आरोहीहरूको बेसक्याम्प क्षतिग्रस्त बनाएको थियो । खराब मौसमका कारण दिनभर उद्धार कार्य प्रभावित बनेको थियो । मंगलबार बिहान मौसम सुधार भएपछि चारजनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका चारजनामध्ये दुई नेपाली र दुई विदेशी रहेका छन् ।

    जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज खटाइएको छ । लामाबगरको गोंगरबाट खटिएको करिब ५० जनाको उद्धार टोली हाल ना गाउँतर्फ अगाडि बढिरहेको छ । ‘हिमपहिरोमा परेकामध्ये तीनजनाको शव फेला परेको छ भने सातजनाको खोजी कार्य जारी छ,’ डिएसपी महताेले भने, ‘वातावरण बिग्रँदा उद्धार कार्यमा कठिनाइ भए पनि सेना, सशस्त्र र प्रहरीको टोलीले निरन्तर काम गरिरहेको छ ।’

    हिमाल आरोहणको अनुमति लिए पनि स्थानीय प्रशासनमा आरोहणको विस्तृत विवरण दर्ता नगरिएको कारण प्रारम्भिक अवस्थामै आरोहीहरूको पहिचानमा समस्या आएको प्रहरीले जनाएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १८, मंगलवार ०६:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP