काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी वैशाख २ गते बुधबारका लागि बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने गरी बैठक तय भएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो।
त्यही दिन दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि अनुशासन समितिको बैठक बस्न लागेको हो। यस बैठकमा विशेषगरी दुईवटा विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ।
खड्काको विज्ञप्ति मुख्य एजेन्डा बैठकको मुख्य एजेन्डा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेको पछिल्लो विज्ञप्ति बन्ने देखिएको छ। खड्काले सोमबार आफूलाई ‘कार्यवाहक सभापति’ उल्लेख गर्दै विज्ञप्ति निकालेपछि यो विषय विवादित बनेको हो। यसअघि पनि सोही पद उल्लेख गरेर विज्ञप्ति निकाल्दा अनुशासन समितिले उहाँलाई सचेत गराउने निर्णय गरेको थियो। समितिले पुरानै गल्ती दोहोरिएको भन्दै यसपटक गम्भीर रूपमा छलफल गर्ने तयारी गरेको छ।
निर्वाचनमा अन्तरघात गर्नेमाथि कारबाहीको तयारी बैठकमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, असहयोग गर्ने तथा विपक्षीलाई सघाउने नेता एवं कार्यकर्ताविरुद्ध परेका उजुरीहरूको पनि छानबिन हुनेछ। देशभरबाट प्राप्त उजुरीहरूमाथि छलफल गरी समितिले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने स्रोतले जनाएको छ।
प्रतिक्रिया