रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन्।
क्रेमलिनका अनुसार, पुटिनले आइतबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन संवाद गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्न तयार रहेको प्रस्ताव राखेका हुन्।
क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति पुटिनले इरानी समकक्षीलाई पश्चिम एसियामा न्यायपूर्ण र दिगो शान्ति स्थापनाका लागि राजनीतिक तथा कूटनीतिक माध्यमबाट मध्यस्थता गर्न र समाधान खोज्न आफू तयार रहेको बताएका छन्।”
दुवै नेताले फोन संवादमा इस्लामाबादमा असफल भएको अमेरिका–इरान वार्ताबारे छलफल गरेका थिए। गत शनिबार र आइतबार पाकिस्तानमा २१ घण्टासम्म चलेको वार्तामा दुई देशबीच सहमति हुन सकेको थिएन।
यसले गर्दा गत मंगलबार दुई देशबीच भएको २ साताको युद्धविराम अन्योलमा परेको छ।
यसैबीच, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फेरि वार्तामा आउँछ कि आउँदैन भन्ने कुरामा आफूलाई मतलब नभएको बताएका छन्। अमेरिकाले आज (सोमबार) देखि इरानस्थित जलमार्ग होर्मुज स्ट्रेट मा नाकाबन्दी लगाउने घोषणा गरेको छ।
प्रतिक्रिया