काठमाडौँ, वैशाख २७ इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। विमानस्थल भन्सारका कर्मचारीसँगको मिलेमतोमा जफत भएको सुन बाहिर पुर्याई बिक्री गरेको र भ्रष्टाचारजन्य कसुर गरेको ठहर गर्दै अख्तियारले मुद्दा चलाएको हो।
अख्तियारले यस प्रकरणमा महरा बाबु-छोरा र बहालवाला सहसचिव अरुण पोखरेलसहित २८ जनालाई प्रतिवादी बनाएको छ। तस्करी भएको ८ हजार ४ सय ८० ग्राम सुन को मूल्य बराबर ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरिएको छ।
प्रतिवादी बनाइएका अन्य प्रमुख व्यक्तिहरूमा:
१० पुस २०७९ मा फ्लाई दुबईको उडानबाट आएका चिनियाँ नागरिक ली हाङ सङले दुईवटा सुटकेसमा ७३० थान भेपभित्र सुन लुकाएर ल्याएका थिए। एक्सरे जाँचका क्रममा शंकास्पद वस्तु देखिए पनि भन्सार कर्मचारीले मिलेमतोमा उक्त सुन बाहिर निकाली सोही ठाउँमा सुन नभएको भेप राखिदिएको अख्तियारको अनुसन्धानले देखाएको छ।
अख्तियारको आरोपपत्र अनुसार सुन बरामद भएकै दिनदेखि महरा बाबु-छोराले चिनियाँ तस्कर र भन्सार कर्मचारीसँग अस्वाभाविक फोन संवाद र भेटघाट गरेका थिए। राहुल महराले तस्कर समूहसँग मिलेर कर्मचारीलाई प्रभावमा पारेको र कृष्णबहादुर महराले सो कार्यमा सहयोग पुर्याएको दाबी गरिएको छ।
यो घटनामा यसअघि नै तीनवटा मुद्दा दायर भइसकेका छन्। काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा राहुल महराले दोषी ठहर भई एक वर्ष दुई महिनाको कैद सजाय भुक्तान गरिसकेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यसअघि नै मुद्दा दायर गरिसकेको अवस्थामा अख्तियारको यो चौथो मुद्दा हो।
प्रतिक्रिया