काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार गृहजिल्ला झापा जाने हुनुभएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि उहाँ पहिलोपटक झापा जान लाग्नुभएको हो।
प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहनुभएका ओली चुनाव प्रचारप्रसारका क्रममा लामै समय निर्वाचन क्षेत्रमा खटिनुभएको थियो। तर, आफ्नो मतदाता नामावली भक्तपुरको सूर्यविनायकमा रहेकाले मतदानका लागि उहाँ फागुन १८ गते काठमाडौँ फर्किनुभएको थियो। उक्त निर्वाचनमा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) सँग ५० हजार मतान्तरले पराजित हुनुभएको थियो। शाह गत चैत १३ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।
त्यस्तै, भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि ओलीलाई पक्राउ गर्न सोही दिन प्रहरी उहाँको गुण्डुस्थित निवासमा रातभर खटिएको थियो। पछि चैत १४ गते बिहान प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो।
ओलीको झापा भ्रमणबारे जानकारी दिँदै उहाँका सचिवालय प्रमुख निरुदेवी पालले भन्नुभयो, “अध्यक्षज्यू भोलि बिहान पहिलो उडानबाट झापा जाने कार्यक्रम तय भएको छ। चुनावपछि उहाँ पहिलोपटक गृहजिल्ला जान लाग्नुभएको हो।”
प्रतिक्रिया