• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • बागमती प्रदेश सरकार गठनमा राप्रपाभित्र तीव्र विवाद: पार्टी केन्द्र र सचेतकको रोक्काबीच ३ सांसद मन्त्री बन्दै

    बागमती प्रदेश सरकार गठनमा राप्रपाभित्र तीव्र विवाद: पार्टी केन्द्र र सचेतकको रोक्काबीच ३ सांसद मन्त्री बन्दै

    हेटौँडा। बागमती प्रदेशमा नेकपा (एमाले) र नेकपाको गठबन्धनमा नयाँ सरकार गठन हुने भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ।

    पार्टी केन्द्रीय कार्यालय र प्रदेश संसदीय दलको सचिवालयले सरकारलाई दिइएको समर्थन आधिकारिक नभएको दाबी गर्दै रोक्न खोजे तापनि राप्रपाका तीन सांसद भने आजै मन्त्री पदको शपथ लिने अन्तिम तयारीमा जुटेका छन्।

    एमालेका नेता किरण थापाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा तीन जना सदस्य सहभागी हुँदै छन्। उपनेता लामाका अनुसार उनीसहित सांसदहरू राजु विष्ट र राजेन्द्र प्रजापतिले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

    कुल आठ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले दुई र राप्रपाले तीन मन्त्रालय भागबन्डा गर्ने सहमति भएको छ। सोही सहमतिअनुसार गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) लाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सुम्पिन लागिएको हो।

    उपनेता लामाले भने पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै संविधान, पार्टी विधान र संसदीय अधिकारको दायराभित्रै रहेर सरकारमा सहभागी हुने निर्णय गरिएको बताएका छन्।

    यद्यपि, किरण थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेदेखि नै राप्रपाभित्र असन्तोष सुरु भएको थियो। संसदीय दलले बुझाएको समर्थन पत्र अस्वीकार गर्न राप्रपा केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरिसकेको छ भने संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले समेत उक्त निर्णयप्रति असहमति जनाउँदै पत्राचार गरेकी छन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ४, बिहीबार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP