प्रहरीले सप्तरीबाट स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
सुरुंगा नगरपालिका–२ भेडियास्थित गाईघाट–कदमाहा सडकखण्डमा आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीले जानकारी दिए।
प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाइलेक्स गाडीबाट २३ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र १८ वर्षीय धिरज प्रसाई छन्।
उनीहरूको साथबाट २३ लाख नगदसहित विभिन्न सामग्रीहरू बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका एक हजार ३९९ थान र पाँच सय दरका एक हजार ८०२ थान नोट छन्।
त्यसका अतिरिक्त गाडीभित्रबाट टेकोन पम्प एक सय थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान बरामद भएको पनि प्रहरीले जनाएको छ।
उनीहरुलाई बैँक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सप्तरी जिल्ला अदालतबाट उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ।
प्रतिक्रिया