• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • जसपा नेपाल र लोसपा नेपालबिचको एकतापछि एमाले रहने छैन मधेस प्रदेश सभाको ठुलो दल

    जसपा नेपाल र लोसपा नेपालबिचको एकतापछि एमाले रहने छैन मधेस प्रदेश सभाको ठुलो दल

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएसँगै मधेस प्रदेश सभाको दलीय समीकरण फेरिने भएको छ ।

    दुई पार्टीबिच आइतबार एकता भएको हो । यद्यपि, प्रदेश सभा संसदीय दल एकीकरण भइसकेको छैन । यी दुवै दलका मधेस प्रदेश सभा, संसदीय दल एकीकरण भएपछि नेकपा एमालेले मधेस प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियत गुमाउने भएको छ ।

    १०७ सदस्यीय मधेस प्रदेश सभामा जसपा नेपालका १९ र लोसपा नेपालका ९ सदस्य छन् । यी दुई पार्टीको एकतापछि प्रदेश सभामा एकीकृत पार्टीको कुल सांसद संख्या २८ हुनेछ । जबकि अहिलेसम्म २५ सांसदसहित नेकपा एमाले प्रदेश सभाको सबैभन्दा ठुलो दल रहँदै आएको छ । पार्टी एकतापछि जसपा नेपाल र लोसपा नेपालसहितको एकीकृत दल प्रदेश सभाको सबैभन्दा ठुलो दल हुनेछ ।

    त्यो अवस्थामा प्रदेश सभामा एमाले दोस्रो ठुलो दल हुनेछ भने नेपाली कांग्रेस २२ सांसदका साथ तेस्रो ठुलो दल हुनेछ ।

    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन् । यद्यपि, प्रदेश सभामा यी दुवै दलले संसदीय दल एकीकृत गरिसकेका छैनन् । संसदीय दल एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टीको सांसद संख्या १६ हुनेछ, जो प्रदेश सभाको चौथो ठुलो राजनीतिक शक्ति हुनेछ ।

    त्यो अवस्थामा जनमत पार्टीको ‘पोजिसन’ एक स्थान तल खस्किने छ । १३ सांसदसहित जनमत पार्टी अहिले चौथो ‘पोजिसन’मा छ भने जसपा नेपाल र लोसपा नेपालबिचको एकता र नेपाली कम्युनिस्ट पार्टी संसदीय दल गठनपछि जनमत पार्टी प्रदेश सभामा पाँचौँ ‘पोजिसन’मा पुग्नेछ ।

    प्रदेश सभामा नेपाल संघीय समाजवादी पार्टीका एक, नागरिक उन्मुक्ति पार्टीका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष १४, सोमबार ०९:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP