काठमाडौँ। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको ‘स्विप अपरेसन’अन्तर्गत गत जेठ महिनामा मात्रै १ हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ। परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँका विभिन्न क्षेत्रबाट १९९ महिला, १ हजार २१८ पुरुष र अन्य ३ जनालाई पक्राउ गरी कारबाही गरिएको हो। यसै अभियानअन्तर्गत काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लिल कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका २१ महिलालाई नियन्त्रणमा लिई डिपोर्टसमेत गरिएको छ।
जेठ महिनामा परिसरले जघन्य तथा गम्भीर अपराधतर्फ २५७, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५१, आर्थिक अपराधतर्फ ४९४ र अन्य ३५८ गरी कुल १ हजार १६० मुद्दा दर्ता गरेको छ। यसै अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दामा अनुसन्धान भइरहेको छ भने हुण्डीसम्बन्धी दुईवटा मुद्दामा २० लाख ७५ हजार ५०० रुपैयाँ बिगो रकमसहित मुद्दा दर्ता भइसकेको छ। यी चालु मुद्दातर्फ प्रहरीले १२२ महिला र ८८२ पुरुष गरी कुल १ हजार ४ जना अभियुक्तलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ।
शान्ति सुरक्षाका दृष्टिकोणले पनि जेठ महिना निकै व्यस्त रहेको प्रहरीले जनाएको छ। सो अवधिमा काठमाडौँमा ३०९ वटा धर्ना, ७७ वटा विरोध कार्यक्रम, ६ वटा मसाल जुलुस, ४ वटा रिले अनसन र ३ वटा कोणसभालगायत कुल ४३४ वटा सडक कार्यक्रमहरू भएका थिए। ती कार्यक्रमहरूको सुरक्षा र व्यवस्थापनका लागि मात्रै १० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको थियो।
यसका साथै काठमाडौँ प्रहरीले राजस्व चुहावट तथा भन्सार छलिका २३ लाख ९९ हजार रुपैयाँ बराबरको हरियो केराउ, कोइला, चश्मा, बिस्कुट, मोबाइल र शक्तिबद्र्धक पेय पदार्थसमेत बरामद गरेको छ। अवैध हतियार नियन्त्रणतर्फ प्रहरीले २ थान बन्दुक र ४६ राउन्ड गोलीसहित ४ जनालाई पक्राउ गरेको छ। जेठ महिनाभर काठमाडौँको समग्र शान्ति सुरक्षा चुस्त राख्नका लागि मोबाइल चेकिङ, पैदल तथा मोटरसाइकल गस्ती, ड्युटी अनुगमन र एसआरपीअन्तर्गत कुल ६७ हजार ९४९ प्रहरी जनशक्ति परिचालन गरिएको परिसरले जनाएको छ।
प्रतिक्रिया