• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

  • मितव्ययिताको नाममा चार प्रहरी अधिकारीको अमेरिका भ्रमण रद्द, आईजीपीद्वय मात्रै जाने

    मितव्ययिताको नाममा चार प्रहरी अधिकारीको अमेरिका भ्रमण रद्द, आईजीपीद्वय मात्रै जाने

    १९ असार, काठमाडौं ।

    संयुक्त राष्ट्र संघ (यूएन) द्वारा अमेरिकामा आयोजना हुन लागेको ‘चिफ अफ पुलिस समिट’ मा सहभागी हुन लागेका नेपालका चार उच्च प्रहरी अधिकारीको भ्रमण सरकारले रद्द गरिदिएको छ। सरकारी खर्चमा मितव्ययिता अपनाउने भन्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई–दुई जना अधिकृतको नाम काटेको हो।

    सरकारको यो निर्णयसँगै अब नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल मात्रै अमेरिका प्रस्थान गर्ने भएका छन्।

    को-को परे मारमा?

    भ्रमण रोकिएका अधिकारीहरूमा दुवै संगठनका आईजीपीका स्टाफ अफिसरयूएन शाखाका प्रमुखहरू रहेका छन्। विगतका वर्षहरूमा यूएनको यस्तो महत्वपूर्ण कार्यक्रममा जाँदा आईजीपीका साथमा स्टाफ अफिसर र यूएन शाखाका प्रमुख पनि जाने स्थापित परम्परा थियो।

    निर्णयप्रति जानकारहरूको असन्तुष्टि

    यो समिट भीआईपी स्तरको हुने र त्यहाँ नेपालका तर्फबाट आईजीपी आफैं सहभागी हुने भएकाले स्टाफ अफिसरको उपस्थिति अनिवार्य जस्तै मानिन्छ। सरकारको यो निर्णयप्रति सुरक्षा संयन्त्रका जानकार तथा पूर्वप्रहरी प्रमुखहरूले असन्तुष्टि जनाएका छन्।

    “यूएनको यस्तो ठूलो फोरममा नेपालका प्रहरी प्रमुखलाई आवश्यक पर्ने प्राविधिक र व्यवस्थापकीय सहयोगका लागि स्टाफ अफिसर एकदमै आवश्यक हुन्छ। अन्य देशका प्रहरी प्रमुखहरू पनि आ–आफ्ना स्टाफ अफिसर र सहयोगी टोली लिएरै आउने गर्छन्,” एक पूर्वआईजीपीले बताए।

    के हो ‘चिफ अफ पुलिस समिट’?

    • उद्देश्य: संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरू सहभागी हुने यस सम्मेलनमा विश्वभरको ‘पिस किपिङ’ (शान्ति स्थापना) कार्यका बारेमा गहन छलफल हुन्छ।

    • नेपालको भूमिका: नेपालले शान्ति स्थापनाका लागि आफ्ना भावी योजनाहरू यसै मञ्चमा प्रस्तुत गर्ने गर्दछ, जसलाई पछि कार्यान्वयनमा लगिन्छ।

    • समयतालिका: यो महत्वपूर्ण सम्मेलन अमेरिकामा जुलाई ५ देखि ७ सम्म (तीन दिन) सञ्चालन हुँदैछ।



    radiomirmire radiomirmire    
  • २०८३ असार १९, शुक्रबार ०८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP