नेपाली चलचित्र क्षेत्रमा असार र साउन महिनालाई सामान्यतया ‘अफसिजन’ मानिन्छ र ठूला बजेटका फिल्म रिलिज गर्न मेकरहरू हच्किने गर्छन्। तर यस वर्षको साउन महिनामा भने नेपाली फिल्म ‘गौँथली’ र हलिउड फिल्म ‘स्पाइडर म्यान-ब्रान्ड न्यु डे’ ले पुरानो भाष्य पूर्ण रूपमा तोडिदिएका छन्। चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार साउन महिनामा मात्रै यी दुई फिल्मले नेपाली बक्सअफिसबाट झन्डै २८ करोड रुपैयाँको लोभलाग्दो ग्रस कलेक्सन गरेका छन्।
डा. कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौँथली’ ले बलियो ‘वर्ड अफ माउथ’का कारण प्रदर्शनको तीन सातामै १६ करोड ३४ लाख ३९ हजार रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। ६ लाख ९ हजारभन्दा बढी दर्शकले हेरेको यो फिल्म सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा सातौँ स्थानमा उक्लिएको छ। डा. भोला रिजालको कथामा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। कम उमेरमा विवाह, सासु बुहारीको सम्बन्ध र पारिवारिक कथावस्तुमा आधारित यो फिल्म भदौ पहिलो सातासम्म पनि हलहरूमा उत्तिकै प्रभावकारी रूपमा चलिरहेको छ।
त्यस्तै, नेपालमा बहुप्रतीक्षित हलिउड फिल्म ‘स्पाइडर म्यान-ब्रान्ड न्यु डे’ ले १५ दिनमा ११ करोड ५९ लाख ८७ हजार रुपैयाँ कमाएको छ। नेपालमा पहिलो दिन नै झन्डै २ करोडको ओपनिङ गर्दै यसले धेरै ओपनिङ गर्ने हलिउड फिल्मको रेकर्ड समेत बनाएको छ। टम हल्यान्ड, जेन्डाया अभिनीत तथा डेस्टिन ड्यानियल क्रेटन निर्देशित यस विश्वचर्चित फिल्मले हालसम्म विश्वभरबाट १ अर्ब १५ करोड अमेरिकी डलरभन्दा बढी कलेक्सन गरिसकेको छ। नेपाली बक्सअफिसमा विदेशी film को धेरै कमाउने सूचीमा भारतीय फिल्मको बाहुल्य रहँदै आएकोमा अब यो हलिउड फिल्म पनि शीर्ष १० भित्र पर्न सफल भएको छ।
प्रतिक्रिया