रोल्पा — रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। शुक्रबार बिहान पहिरोमा परी बेपत्ता भएका उनीहरूको दिउँसो स्थानीय र प्रहरीको खोजी टोलीले मृत अवस्थामा शव फेला पारेको हो।
शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर माथिबाट खसेको पहिरोले पुरिएको थियो। घटनालगत्तै खटिएको उद्धार टोलीले खोजी गर्ने क्रममा ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगरको शव पहिरोबाट निकालेको प्रहरीले जनाएको छ।
रोल्पामा लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेको छ। यसअघि बिहीबार मात्रै रोल्पाकै थबाङ गाउँपालिका–५ उवा कोटलबारामा गएको भीषण पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना अझै बेपत्ता रहेका छन्।
प्रतिक्रिया