भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानडाको क्यालगरीमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित उनको अस्पतालमा उपचार सम्भव नभएपछि त्यहाँस्थित छोरी निशाको घरमा राखिएको अवस्थामा निधन भएको उनका ज्वाइँ ज्योति वैद्यले जानकारी दिएका छन्। उनका चार छोरीमध्ये तीन जना क्यानडा र एक जना अमेरिकामा बस्दै आएका छन्।
भक्तपुर पुर्ख्यौली घर भएका धौभडेलको जन्म १९९२ फागुनमा सिराहामा भएको थियो। उनका हजुरबुबा शंकरदास रोजगारीको सिलसिलामा सिराहा पुगेपछि उनको परिवार तराईमै बसोबास गर्न थालेको थियो। संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका धौभडेललाई तत्कालीन नेकपा एमालेको सरकारले २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो। आफ्नो कार्यकालमा उनले नेपाल-भारत द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ बनाउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
प्रतिक्रिया