नेपाल समूह विजेताका रूपमा साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा चलिरहेको च्याम्पियनसिपअन्तर्गत शुक्रबार समूह ‘ए’को आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरीमा रोक्दै, शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो । बराबरी नतिजासँगै नेपालले तीन खेलबाट ७ अंक बटुल्यो । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । माल्दिभ्सले समान खेलबाट २ अंक जोड्न सक्यो ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालका लागि निशानराज लावत र माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले एक–एक गोल गरेका थिए । खेलको १५औँ मिनेटमा माल्दिभ्सका इमरानले १–० का लागि गोल गरेका थिए । पहिलो हाफमा नेपालले बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो । तर, घरेलु मैदानको फाइदा उठाएको माल्दिभ्सले नेपालका स्ट्राइकरहरूलाई डी–बक्सभित्र चल्नै दिएनन् । माल्दिभ्सले एक गोलको अग्रता लिएपछि रक्षात्मक रणनीति अपनाएको थियो ।
नेपालले बल पोसेसन बनाउँदै माल्दिभ्समाथि दबाब बनाइराखे पनि मध्यान्तरअघि बराबरी गोल भने फर्काउन सकेन । दोस्रो हाफमा नेपालले थप सुधारिएको प्रदर्शन गर्यो । माल्दिभ्स भने नेपालविरुद्धको एक गोलको अग्रताका साथ खेल सकाउने योजनाका साथ मैदानमा उत्रिएको थियो । नेपाली युवा खेलाडीले माल्दिभ्सको पोस्टमा निरन्तर पोस्टचार्ज गरिरहेका थिए । खेलको ८७औँ मिनेटमा नेपालले १–१ का लागि गोल गर्यो । नेपाललाई अन्तिम समयमा निशानले बराबरी गोल गरेका हुन् । सुवास बमको फ्रिकिक डी–बक्स क्षेत्रमा पुगेपछि त्यसैलाई सदुपयोग गर्दै निशानले गोल गरेका हुन् । समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलंकालाई हराएको थियो ।
समूह ‘बी’मा भारत र बंगलादेश अन्तिम चारमा पुगेका छन् । यस समूहबाट पाकिस्तान बाहिरिएको छ । पाकिस्तान लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । भारतले बिहीबार पाकिस्तानलाई हराउँदा एक खेलअगाडि नै बंगलादेश पनि सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह विजेताका रूपमा सेमिफाइनल स्थान बनाउँदा भुटानमाथि २–१ को कठिन जित निकालेको थियो । समूह ‘ए’मा भुटान तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मानिएको थियो ।
प्रतिक्रिया