१४ वैशाख, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको महत्त्वपूर्ण बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालद्वारा संयुक्त रूपमा तयार पारिएको विशेष राजनीतिक प्रस्तावमाथि छलफल र अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको छ।
जिम्मेवारी बाँडफाँट र साङ्गठनिक पूर्णता नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले पार्टीको साङ्गठनिक संरचनालाई व्यवस्थित बनाउन ठोस निर्णयहरू लिनेछ। जसमा नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी तोक्ने तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयहरू प्राथमिकतामा रहेका छन्।
चुनावी समीक्षा र गतिरोधको अन्त्य गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेपछि नेकपाभित्र गम्भीर समीक्षा भइरहेको छ। सोही चुनावी हारको कारण पहिल्याउन संयोजक प्रचण्डले चैत १९ गते नै बैठक आह्वान गरेका थिए।
यसअघि पटक-पटक स्थगित हुँदै आएको यो बैठकमा वैशाख ३ गते सदस्यहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ संयोजकद्वयले दिएका थिए। आजको बैठकले ती सबै विषयलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ कार्ययोजनाका साथ अघि बढाउने विश्वास गरिएको छ।
प्रतिक्रिया