काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि) का शीर्ष तीनै जना पदाधिकारीले बिहीबार पदबाट सामूहिक राजीनामा दिएका छन्। उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले कार्यकाल बाँकी छँदै राजीनामा बुझाएका हुन्।
शिक्षाध्यक्ष केसीका अनुसार नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सरकारको भावनालाई कदर गर्दै सामूहिक राजीनामा दिइएको हो। पदाधिकारीहरूले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जानकारी दिएका छन्। सरकारले यसअघिका राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी गरिरहेका बेला उनीहरूले स्वेच्छिक रूपमा पद त्यागेका हुन्।
राजीनामा दिनेमध्ये उपकुलपति अर्याललाई २०८२ असार २५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए। त्यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल भने २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट नियुक्त भएका थिए।
त्रिविका पदाधिकारीहरूको कार्यकाल सामान्यतया चार वर्षको हुने भए पनि वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै उनीहरूले समय अगावै पद छोडेका हुन्। प्रमुख पदाधिकारीहरूको यो वहिर्गमनसँगै मुलुकको जेठो विश्वविद्यालयमा अब नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने देखिएको छ।
प्रतिक्रिया