• २०८३ कार्तिक २२ | Sat, 07 Nov 2026

  • काग तिहारको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहद्वारा शुभकामना व्यक्त

    काग तिहारको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहद्वारा शुभकामना व्यक्त

    काठमाडौँ | कार्तिक २१,

    प्रधानमन्त्री वालेन्द्र शाहले नेपालीहरूको महान् पर्व तिहार (यमपञ्चक) को पहिलो दिन काग तिहारको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

    आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले तिहार पर्वका धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षहरूको चर्चा गरेका छन्। उनले तिहारले समाजमा सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन्।

    सामाजिक सञ्जालमा शुभकामना दिँदै उनले लेखेका छन्:

    “यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना!

    आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौं। घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने र ‘काकेन दधि भक्षितम्’ भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने कामना गर्ने प्रचलन छ। आधुनिक सञ्चार नभएको प्राचीन कालमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो।

    साथै, यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्परा पनि छ। हाम्रो संस्कृतिले यमराजलाई डरको रूपमा मात्रै होइन, न्यायको प्रतीकका रूपमा पनि बुझाएको छ। यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास गरिन्छ।”

    शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले आजै परेको धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै सबैका लागि निरोगी जीवनको कामना गरेका छन्।

    यसै गरी, भोलि मनाइने कुकुर तिहारको प्रसङ्ग उल्लेख गर्दै उनले मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरप्रतिको प्रेम र कृतज्ञताले पशुपन्छीहरूसँगको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

    सन्देशको अन्त्यमा उनले सत्य र न्यायको बाटोमा हिँड्ने प्रेरणा मिलोस् भन्दै ‘जय देश, जय संस्कृति!’ मार्फत शुभकामना टुङ्ग्याएका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक २२, शनिबार ०७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP