• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • पश्चिमले एक्ल्याउने प्रयास गरेका पुटिन मित्र खोज्दै आइपुगे भारत

    पश्चिमले एक्ल्याउने प्रयास गरेका पुटिन मित्र खोज्दै आइपुगे भारत

    रुसले युक्रेन युद्ध सुरु गरेपछि पहिलोपटक पुटिनलाई कुनै लोकतान्त्रिक देशले स्वागत गरिरहेको हो
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगभग चार वर्षपछि बिहीबार भारत भ्रमणका क्रममा नयाँदिल्ली ओर्लिए । पुटिनको स्वागतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल गएका थिए । पुटिन भारतमा ३० घन्टा रहने समयतालिका छ ।

    १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि भारतले कुनै पनि महाशक्तिसँग औपचारिक गठबन्धनमा नजोडिन ‘रणनीतिक स्वायत्तता’को नीति लिने गरेको छ । यसै उद्देश्यमा भारतले शीतयुद्धकालमा असंलग्न आन्दोलन निर्माणमा नेतृत्वदायी भूमिका निभायो । तथापि, सन् १९६० को दशकबाट नयाँदिल्ली सोभियत संघको नजिक रहेर काम गर्न थालेको थियो ।

    शीतयुद्धको अन्त्यदेखि, नयाँदिल्लीले रुससँगको आफ्नो मित्रतालाई नत्यागी अमेरिकासँग रणनीतिक र सैन्य सम्बन्ध गहिरो बनाउने नीति अंगीकार गर्‍यो । यद्यपि, युक्रेनमा रुसको युद्धले त्यो सन्तुलनलाई चुनौती दिएको छ । र, पुटिनलाई स्वागत गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका र रुस कसैलाई नत्यागी आफूहरू विश्वमञ्चमा अघि बढ्न चाहेको संकेत दिन खोजेका छन् ।

    रुसी राष्ट्रपति भारत भ्रमणमा निस्कनुअघि क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै ‘पुटिनको भारत भ्रमण धेरै महŒवपूर्ण रहेको’ जोड दिएको छ । ‘भ्रमणले विशेषाधिकारप्राप्त रणनीतिक साझेदारीको रूपमा रुसी–भारत सम्बन्धको व्यापक एजेन्डालाई थप छलफल गर्ने अवसर प्रदान गरहेको,’ विज्ञप्तिमा भनिएको छ ।
    पुटिनसँगै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ, रुसी सरकारी हतियार निर्यातकर्ता ‘रोसोबोरोने–क्सपोर्ट’का वरिष्ठ अधिकारी तथा प्रतिबन्धित तेल फर्म रोसनेफ्ट तथा ग्याजप्रोम नेफ्टका प्रमुख पनि भारत भ्रमणमा आएको प्रतिनिधिमण्डलमा सामेल छन् ।

    भ्रमणका लागि किन यही समय चुनियो ?
    पुटिन भारत र रुसबिच रणनीतिक साझेदारी स्थापना भएको २५औँ वर्षको अवसरमा भारत आएका हुन् । पुटिन राष्ट्रपति निर्वाचित भएको पहिलो वर्ष नै दुई देशबिच रणनीतिक साझेदारी भएको थियो । तर, पछिल्लो समय भारत र रुसबिचको सम्बन्ध परिवर्तनशील भूराजनीतिक दबाबमा परेका छन् ।

    सन् २००० मा दुई देशबिच रणनीतिक सम्बन्ध स्थापना भएदेखि भारत र रुसका कार्यकारी प्रमुख पालैपालो वार्षिक शिखर सम्मेलनमा भाग लिन एकअर्काको देशमा जाने परम्परा छ । यसअनुरूप एक वर्ष भारतीय प्रधानमन्त्र्री रुसको भ्रमणमा जान्छन् भने अर्को वर्ष र रुसी राष्ट्रपति अर्को वर्ष भारत भ्रमणमा पुग्छन् । यद्यपि, त्यो परम्परा २०२२ मा तोडियो । रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण गरेपछि पुटिन भारत भ्रमणमा गएनन् । पुटिनले प्राय: विदेश भ्रमण स्थगित गरेपछि मोदी नै वार्षिक शिखर सम्मेलनमा कार्यसूची बनेको थियो, तर अन्तिम समयमा सम्मेलन नै स्थगित गरियो ।

    सन् २०२३ मा नयाँदिल्लीमा सम्पन्न जी–२० शिखर सम्मेलनमा समेत पुटिनले भाग लिएनन् । मुख्यतया, युक्रेन युद्धसँग जोडेर ‘अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिजे)’को वारेन्टको कारण उनको वैदेशिक भ्रमण कटाइन थालेका थिए । भारत आइसिजेको सदस्य नभएकाले उनी जी–२० सम्मेलनमा गएको भए पनि केही हुने थिएन । तर, जी–२० का अन्य पश्चिमी सदस्यहरूले रुसी राष्ट्रपति आए आफूहरू नआउने चेतावनी दिएपछि पुटिन पछि हटे । दुई देशबिचको नियमित वार्षिक शिखर सम्मेलन पुन: सन् २०२४ देखि सुचारु भएको छ । सो वर्ष मोदीले सम्मेलनमा भाग लिन रुसको भ्रमण गरेका थिए । र, अहिले पुटिन चार वर्षपछि नयाँदिल्लीमा अवतरण गरेका छन् ।

    के छन् सम्मेलनका एजेन्डा ?
    व्यापार विश्लेषक र राजनीतिक विज्ञहरूले भ्रमणका क्रममा पुटिनले भारतलाई थप रुसी क्षेप्यास्त्र प्रणाली र लडाकु विमान किन्न जोड दिन सक्ने बताएका छन् । अर्थात् भ्रमणका क्रममा दुई देशबिचको रक्षा सम्बन्धलाई बढावा दिने, औषधि, यन्त्र तथा कृषि उत्पादनलगायत विषयमा व्यापार विस्तार गर्न थप क्षेत्र अन्वेषण गर्ने प्रयास गरिनेछ । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि उच्च दण्डात्मक शुल्क लगाएपछि हुन लागेको यस शिखर सम्मेलनले दुवै पक्षलाई आफ्नो विशेष सम्बन्धलाई पुन: पुष्टि गर्ने अवसर प्रदान गर्दछ,’ अमेरिका स्थिति थिंक ट्यांक ‘क्राइसिस ग्रुप’मा भारत विषयका वरिष्ठ विश्लेषक प्रवीण डोन्थीले भने । यस भ्रमणमार्फत पुटिनले आफू विश्व मञ्चमा एक्लो नरहेको सन्देश दिन खोज्ने पनि विश्लेषकहरू बताउँछन् ।

    ‘राष्ट्रपति पुटिनले आफ्ना देशवासी र अन्तर्राष्ट्रिय समुदायलाई रुस संसारमा एक्लो नभएको बलियो सन्देश प्रवाहित गर्दैछन,’ नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक राजन कुमारले भने,‘युक्रेनमा युद्ध सुरु गरेपछि पहिलोपटक पुटिनलाई कुनै लोकतान्त्रिक देशले स्वागत गरिरहेको छ । विश्वमञ्चमा दबाब खेपिरहेको समयमा यसले विशेष अर्थ राख्छ ।’ यसका बाबजुद पछिल्लो समय भारत–रुस सम्बन्धको एक प्रमुख चालक रहेको तेल व्यापार जोखिममा छ । र वार्तामा त्यो विषय अतिरिक्त, त्यसमाथि अवरोध सिर्जना गर्न जिम्मेवार व्यक्तिप्रधान रहने विज्ञहरू बताउँछन् ।

    भारत–रुस शिखर सम्मेलनमा ट्रम्पको छाया
    सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गरेपछि भारतले रुसी कच्चा तेलको खरिद बढाउन सुरु गर्‍यो । अहिले ऊ रुसी तेलको दोस्रो ठुलो खरिदकर्ता बनिसकेको छ । यस अवधिमा भारतमा रुसी तेलको आयात उल्लेखनीय रूपमा २,२५० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । भारतले किन्ने कुल तेलको हिस्सामा रुसी तेलको हिस्सा १ प्रतिशतबाट ४० प्रतिशत पुगेको छ । त्यतिवेला अमेरिकाले नै भारतलाई थप रुसी तेल किन्न चुपचाप प्रोत्साहित गरेको नयाँदिल्लीले बताउने गरेको छ । पश्चिमले रुसी कच्चा तेलको खरिद रोकेको कारण विश्वबजारमा एक्कासी रुसी तेलको आपूर्ति रोकिँदा मूल्य ह्वात्तै बढ्न सक्थ्यो । भारतले रुसी तेलको आयात बढाएर विश्वव्यापी तेलबजारलाई स्थिर बनाउन मद्दत गर्‍यो ।

    तर, ट्रम्पले दोस्रो कार्यकाल सुरु भएदेखि नै युक्रेन युद्ध अन्त्य गर्न मस्को र किभमाथि दबाब दिने क्षेत्रको खोजीमा छन् । यसैक्रममा उनले रुसी तेलको उच्च खरिदकर्ता भारतमाथि दबाब मस्कोमाथिको दबाबमा बदलिने आशा राखेका छन् । सुरुमा ट्रम्पले भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाएका थिए । पछि, रुसी कच्चा तेल खरिदका लागि अतिरिक्त २५ प्रतिशत भन्सार थप्दै ५० प्रतिशत पुर्‍याए । त्यसपछि पनि भारतले रुसी तेल आयात रोकेको छैन । नयाँदिल्लीले आफ्नो ‘रणनीतिक स्वायत्तता’अन्तर्गत खरिदलाई निरन्तरा दिएको भन्दै बचाउ गरिरहेको छ ।

    तर अक्टोबरमा, ट्रम्पले रुसका दुई ठुला तेल कम्पनी रोसनेफ्ट र लुकोइलमाथि प्रतिबन्ध लगाएपछि भारतका कठिनाइ बढेको छ । ट्रम्पले ती कम्पनीसँग व्यापार गर्ने अन्य देशका कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन् । रुसी कम्पनीबाट तेल आयात गर्ने काममा भारतको सबैभन्दा ठुलो निजी तेल रिफाइनर रिलायन्स संलग्न छ । ट्रम्पको धम्कीपछि रिलायन्सले भविष्यमा रुसी कच्चा तेल आयात रोक्ने बताएको छ । यस्तोमा, भारतले गर्ने रुसी कच्चा तेलको आयात तीन वर्षको न्यूनतममा झर्ने प्रक्षेपण गर्न थालिएको छ । यसबिच, भारतले भर्खरै अमेरिकाबाट ग्यासको आयात उल्लेख्य बढाउने सम्झौतामा हस्ताक्षर गरेको छ । रक्षा क्षेत्रमा पनि, अमेरिकाले भारतमाथि रुसी हतियारको खरिद घटाएर आफूबाट खरिद बढाउन दबाब दिइरहेको छ ।

    नयाँदिल्ली मस्कोसँगको आफ्नो रक्षा सम्झौताको कारण वासिंगटन चिडिएला भनेर सतर्क छ । तर, त्यसैकारण ऊ रुससँग महŒवपूर्ण सम्झौता गर्नबाट रोकिने भने छैन,’ क्राइसिस ग्रुपका विश्लेषक डोन्थीले भने, ‘भारतले अमेरिकासँग पनि सम्झौता गरेर अमेरिकी आलोचना घटाउने आशा गरेको छ । त्यसै उद्देश्यले केही सम्झौतामा हस्ताक्षर भइसकेका छन् ।’

    तर, ट्रम्पको दबाबले भारतमा कायम अमेरिकाप्रतिको सद्भावमा धक्का पुग्ने जोखिम उत्पन्न भएको छ । पूर्वभारतीय विदेशसचिव तथा रुसका लागि राजदूत रहिसकेका कन्वल सिब्बलले पनि ट्रम्प र अमेरिकाले भारतप्रति ‘दोहोरो मापदण्ड’ अपनाएको मान्छन् । ‘ट्रम्प आफैँले अलास्कामा पुटिनका लागि रातो कार्पेट बिछ्याए । अनि भारतले रुससँगको सम्बन्ध किन निर्माण गर्न नहुने ?,’ अगस्टमा अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखर सम्मेलनलाई उल्लेख गर्दै सिब्बलले भने ।

    भारत–रुस सम्बन्ध कुन–कुन क्षेत्रमा छ बलियो ?
    भारत र रुसबिचको द्विपक्षीय ऊर्जा सम्बन्धले अवरोधको सामना गरिरहँदा उनीहरूबिचको रक्षा सम्बन्ध भने दसकौँदेखि स्थिर छ । रुस भारतको सबैभन्दा ठुलो रक्षा आपूर्तिकर्ता देश हो । भारतको हतियार आयातको लगभग ३६ प्रतिशत र अवस्थित हतियारको ६० प्रतिशतभन्दा बढी हिस्सा रुसी हतियार छ । उसो त सन् २०१० मा रुसी हतियारको ७२ प्रतिशतसम्म थियो । भारतले पछिल्लो समय घरेलु उत्पादन बढाउने र अमेरिका र युरोपेली राष्ट्रहरूबाट बढी खरिद गर्ने प्रयास गर्दा रुसी हतियारको आयात हिस्सा घटेको छ । तर, पनि विज्ञहरूका अनुसार भारतको प्रमुख रक्षा साझेदारको रूपमा रुसको हैसियत अझै धेरै वर्षसम्म चुनौतीरहित रहनेछ ।

    मे महिनामा पाकिस्तानसँग भएको चारदिने हवाईयुद्धको समयमा रुसी ‘एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली’ भारतको हवाई प्रतिरक्षाको केन्द्रबिन्दु थियो । भारतका वायु सेना प्रमुख मार्सल एपी सिंहले त त्यतिवेला ‘एस–४०० भारतका लागि गेम चेन्जर’ रहेको सम्म बताएका थिए । नयाँदिल्लीले थप एस–४०० वायु रक्षा प्रणाली किन्न खोजिरहेको छ । यसैबिच, रुसले भारतलाई आफ्नो एसयू–५७ पाँचौँ पुस्ताको स्टिल्थ लडाकु विमान पनि बेच्न चाहेको छ । ‘एसयू–५७ विश्वको सबैभन्दा राम्रो विमानमा पर्छ । र, यो पनि भ्रमणको एजेन्डामा छ,’ पुटिनका प्रेससचिव दिमित्री पेस्कोभले शिखर सम्मेलन अघि भनेका थिए ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १९, शुक्रबार ०६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP