• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • बलात्कारपछि इनिसाको मृत्यु: अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

    बलात्कारपछि इनिसाको मृत्यु: अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

    सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कार र हत्या घटनामा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
    १८ दिन अनुसन्धान गरेर चारजना आरोपीविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय सुर्खेतमा बुझाइएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए । ‘पक्राउ परेका चारैजनाविरुद्ध मुद्दा चलाउन राय दिएका छौँ । तीमध्ये घटनास्थलबाटै पक्राउ परेका एकजना मुख्य प्रतिवादी हुन् ।

    अन्य तीनजना भने अपराधमा सहयोगी देखिएका छन्,’ शाहीले भने, ‘कुन कसुरमा के–के मागदाबीसहित मुद्दा चलाउने भनेर सरकारी वकिलको कार्यालयले निर्णय गर्छ ।’ प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त १६ वर्षीय किशोरले बलात्कार गरेको र कर्तव्यमा अन्य तीनजनाको पनि भूमिका देखिएको छ । यसअघि पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिसाको मृत्यु हुन पुगेको देखाएको थियो । 

    किशोरी इनिसाका विद्यालय सहपाठीसमेत रहेका १६ वर्षीय किशोरलाई मुख्य अभियुक्त करार गर्दै जबर्जस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउन राय दिइएको छ । उनीमाथि जन्मकैदको मागदाबीको राय सरकारी वकिलको कार्यालयलाई दिएको छ । ‘बलात्कारमा अन्य तीनजनाको संलग्नता देखिएन । त्यही भएर सामूहिक बलात्कार होइन भन्ने निष्कर्ष छ,’ प्रहरी स्रोतले भन्यो, ‘अन्य तीनजना कर्तव्यमा भने संलग्न देखिएका छन् ।’ अन्य तीन किशोर घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन राय दिइएको प्रहरी स्रोत बताउँछ ।

    ट्युसन पढ्न भनेर निस्किएकी इनिसा २३ फागुनमा वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनको पार्कमा मृत फेला परेकी थिइन् । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि इनिसाको डिएनए रिपोर्ट, मोबाइल ट्यापसम्बन्धी फरेन्सिक रिपोर्ट प्राप्त भएको छैन । केही अनुसन्धान नेपालमा गर्न सम्भव नभएकाले नमुना विदेशमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको शाहीले बताए । 

    सरकारी वकिलको कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले प्रहरीको अनुसन्धान प्रतिवेदन बुधबार दर्ता भएको र विश्लेषण गरेर अभियोजन प्रक्रिया अगाडि बढ्ने बताए । ‘प्रहरी अनुसन्धान प्रतिवेदन प्राप्त भएको छ, हामी अध्ययन गर्छाैँ । त्यसपछि कुनकुन कसुर र मागदाबी लिएर अभियोजन गर्ने भनेर निर्णय हुन्छ,’ उनले भने । बिहीबार कर्णालीमा प्रादेशिक बिदा छ भने शुक्रबार राष्ट्रिय बिदा छ । ‘अब आइतबार मात्र प्रतिवेदन विश्लेषण हुन्छ, त्यसपछि जिल्ला अदालतमा अभियोजन दर्ता गर्छाैँ,’ महतले बताए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि इनिसाको शव अझै प्रादेशिक अस्पताल सुर्खेतको शवगृहमा छ । घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका छैनन् । गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । 



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १२, बिहीबार ०६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP