काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैँमाथि प्रज्वलनशील वस्तु खन्याएर आगो लगाएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतको कीर्तिपुर बर्न अस्पतालमा शल्यक्रिया भइरहेको छ।
गोरखा स्थायी घर भई काठमाडौँ बस्दै आएकी बस्नेतको शरीर २५ देखि ३० प्रतिशतसम्म जलेको छ। वीर अस्पतालमा प्राथमिक उपचारपछि परिवारको आग्रहमा मंगलबार राति नै उनलाई कीर्तिपुर अस्पताल सारिएको थियो। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
मंगलबार साँझ साढे ६ बजे माइतीघरमा ‘जेनजी आन्दोलन’का सहिदको सम्झनामा दीप प्रज्वलन भइरहेका बेला उनले आत्मदाहको प्रयास गरेकी हुन्। घटनालगत्तै प्रहरीले आगो निभाएर उनलाई उद्धार गरी अस्पताल पुर्याएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। घाइते युवती बोल्न सक्ने अवस्थामा नरहेकाले घटनाको कारण भने खुल्न सकेको छैन।
प्रतिक्रिया