• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • राम–जानकी विवाह पञ्चमी मनाइँदै, यस्तो छ साताव्यापी परम्परा

    राम–जानकी विवाह पञ्चमी मनाइँदै, यस्तो छ साताव्यापी परम्परा

    जनकपुरधाम । त्रेता युगमा भगवान श्रीराम र माता सीताको विवाहको स्मरणमा मनाइने राम–जानकी विवाह पञ्चमी जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ । एक साता अघिदेखि नै विवाह पञ्चमीको तयारी सुरु हुन्छ । मन्दिर प्राङ्गण, सडक र रंगभूमि मैदान विभिन्न सांस्कृतिक झाँकी, फूल, दीप, झिलिमिली सजावट र धार्मिक सामग्रीले सजाइन्छ ।आज हुने विवाहका लागि जानकी मन्दिरको विशाल प्राङ्गणमा आकर्षक विवाह मण्डप तयार पारिएको छ । प्रत्येक वर्षझैँ यसपटक पनि हजारौँ भक्तजन र देश–विदेशका दर्शनार्थी विवाह पञ्चमीमा सहभागी हुने अनुमान गरिएको छ ।

    जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबार र राम मन्दिरलाई अयोध्या दरबारको रूपमा चित्रण गरिन्छ । दुवै मन्दिर विवाह पञ्चमीको दिन विशेष रूपले सजाइन्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भने, ‘जस्तो छोरीको बिहे गर्दा अनुभूति हुन्छ, त्यस्तै अनुभव विवाह पञ्चमीमा हुन्छ ।’महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा रहँदै वैवाहिक कार्यक्रम सञ्चालन गर्छन् । राम मन्दिरका महन्थ राम गिरी राजा दशरथको भूमिकामा सहभागी हुन्छन् । महन्थ गिरीले भने, ‘सीताजस्तो बुहारी पाउनु गौरवको कुरा हो ।’विवाह पञ्चमीको पहिलो दिन ‘नगरदर्शन’ विधि गरिन्छ । त्रेतायुगमा भगवान राम र माता जानकीको दिव्य विवाहको स्मरणमा नगरदर्शन गरिन्छ । राम–लक्ष्मणको प्रतीक स्वरूप तयार गरिएको झाँकी जनकपुरधामका प्रमुख मार्गहरूमा परिक्रमा गराइन्छ ।

    भक्तजनले दीप, धुप र फूल लिएर झाँकीको दर्शन गर्छन् । यस विधिमा उपस्थित हजारौँ श्रद्धालुले धार्मिक अनुभवसहित सांस्कृतिक झाँकीको आनन्द लिन्छन् ।

    दोस्रो दिनः फूलबारी लीला – पहिलो नजरको पुनर्स्मरण

    विवाह पञ्चमीको दोस्रो दिन सबैभन्दा आकर्षक विधि ‘फूलबारी लीला’ हो । रामायणमा वर्णन गरिएअनुसार त्रेतायुगमा राम र जानकीको पहिलो भेट भारतको गिरिजा माई मन्दिरस्थित फूलबारीमा भएको थियो । यस प्रसंगलाई जनकपुरधामको जानकी मन्दिर छेउको फूलबारीमा जीवन्त रूपमा अवतरण गराइन्छ ।

    हजारौँ श्रद्धालु फूलबारी लीलामा सहभागी भएर राम–जानकीको पहिलो नजर मिल्ने क्षणको अनुभव गर्छन् । गीत, संगीत, नृत्य र धार्मिक रसले मिश्रित यो दृश्य भक्तिमय र भावनात्मक हुन्छ ।

    तेस्रो दिन : धनुष–यज्ञ विधि

    विवाह पञ्चमीको तेस्रो दिन धनुष–यज्ञ सम्पन्न हुन्छ । कथाअनुसार माता सीताले शिवजीको पिनाक धनुषलाई केवल बायाँ हातले उठाएर लिपपोत गरेपछि राजा जनकले उक्त धनुषमा प्रत्यंचा चढाउन सक्ने वरसँग सीताको विवाह गर्ने घोषणा गरेको धार्मिक मान्यता छ ।

    त्रेता युगमा रंगभूमि मैदान १२ बिघामा सम्पन्न यो यज्ञ अहिले पनि सोही स्थानमा विधिपूर्वक सम्पन्न गरिन्छ ।

    चौथो दिन : तिलकोत्सव – सम्धी मिलन र हाँस्यरस

    चौथो दिन तिलकोत्सव विधि मनाइन्छ । जानकी मन्दिरबाट पाहुरसहितको जुलुस राम मन्दिर पुग्छ, जहाँ दुवै मन्दिरका महन्थबिच ‘अंकमाल’ अर्थात् सम्धी मिलन सम्पन्न हुन्छ ।

    मिथिलाको परम्परा अनुसार सम्धीलाई हलुका गाली, गीत र व्यङ्ग्यसहित सम्मान गरिन्छ । महिलाहरूले विवाहसम्बन्धी लोकगीत गाएर वातावरणलाई हाँस्य, उल्लासमय बनाउँछन् । मन्दिरका पुजारी, महन्थ, उत्तराधिकारी महन्थ, गुठी संस्थानका प्रतिनिधि र स्थानीय युवा क्लबका सदस्यहरूको सहभागिताले यस विधिलाई अझ रंगीन बनाउँछ ।

    पाँचौँ दिन : मटकोर – पवित्र माटोको यात्रा

    पाँचौँ दिन मटकोर विधि सम्पन्न हुन्छ । मिथिलाका महिलाहरू साँझ परम्परागत पोसाकमा हातमा गाग्रो बोकेर गीत गाउँदै गंगासागर पोखरीतर्फ जान्छन्, जहाँबाट ल्याइएको माटोबाट विवाह वेदी निर्माण गरिन्छ ।

    मटकोर विधि केवल संस्कारमात्र होइन, मिथिलाको सांस्कृतिक पहिचानको जीवित प्रतीक पनि हो ।

    छैटौँ दिनः स्वयंवर र रातभरि वैवाहिक कार्यक्रम

    छैटौँ दिन स्वयंवर रंगभूमि मैदानमा सम्पन्न हुन्छ । राम मन्दिर र जानकी मन्दिरका डोला १२ बिघा मैदान पुगेर स्वयंवर कार्यक्रम सुरु हुन्छ ।

    स्वयंवरपछि दुवै मन्दिरका डोला शोभा यात्रासहित जानकी मन्दिर फर्किन्छन् । यहाँ रातभरि वैदिक परम्परा अनुसार विवाह सम्पन्न हुन्छ । महिलाहरूले विवाह गीत गाउँछन्, बाजागाजा, दीपमालिका र मन्त्रजपले वातावरण अलौकिक बनाउँछ ।

    सातौँ दिनः रामकलेवा – जन्तीको भावपूर्ण बिदाइ

    अन्तिम दिन रामकलेवा विधि सम्पन्न हुन्छ। अयोध्याबाट आएका साधु–सन्त र जन्तीलाई भोजन गराइन्छ । मिथिला परम्परा अनुसार बेहुला पक्षबाट आएका व्यक्तिहरूलाई गीत, ठट्टा र हलुका गालीमार्फत बिदाइ गरिन्छ ।
    राम–जानकी विवाह पञ्चमी केवल धार्मिक अनुष्ठान होइन, हजारौँ वर्ष पुरानो मिथिला संस्कृति, परम्परा, कथानक र सामूहिक आस्थाको प्रत्यक्ष प्रतीक हो । सात दिनसम्म चल्ने प्रत्येक विधिको आफ्नै गहिरो अर्थ, मौलिक सौन्दर्य र ऐतिहासिक पृष्ठभूमि छ ।
    नगरदर्शन, फूलबारी लिला, धनुष–यज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर र रामकलेवा – यी सबै विधिमा श्रद्धा, संस्कृति र ऐतिहासिक स्मृति मिसिएको छ ।

    राम–जानकी विवाह पञ्चमी जनकपुरधामको सांस्कृतिक पहिचान, धार्मिक आस्था र परम्परागत उत्सवको जीवित उदाहरण हो । सात दिनसम्म चल्ने यो महोत्सवले जनकपुरधामलाई आध्यात्मिक, सांस्कृतिक र धार्मिक केन्द्र बनाउने गर्दछ ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर ९, मंगलवार ०५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP