• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई अनुरोध

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई अनुरोध

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आगामी जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ। सैनिक मञ्च टुँडिखेलमा हुने उक्त समारोहमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधनका लागि अनुरोध गरिएको छ। मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर सरकारले राष्ट्रपतिको कार्यालयलाई यससम्बन्धी अनुरोध पत्र पठाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ। गणतन्त्रको प्रतीक राष्ट्रपति नै भएकाले उहाँबाटै सम्बोधन हुनु उपयुक्त हुने ठहर गर्दै सरकारले यस्तो निर्णय गरेको हो। सम्बोधन नगरे पनि प्रधानमन्त्री शाह समारोहमा भने सहभागी हुनुहुनेछ।

    प्रधानमन्त्री शाह पछिल्लो समय संसद्का विभिन्न राष्ट्रिय सरोकारका कार्यक्रमहरूमा पनि मौन रहँदै आउनुभएको छ। राष्ट्रपति पौडेलले संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले धन्यवाद दिने परम्परा रहे पनि शाहले यस पटक नबोलीकन सिधै सभामुखसमक्ष प्रस्ताव पेश गर्नुभएको थियो। संसद्मा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ समेत प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुभएको थियो। त्यस्तै, प्रतिनिधिसभा नियमावलीअनुसार हरेक महिनाको पहिलो साता सञ्चालन हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समेत प्रधानमन्त्री शाहको अनिच्छाका कारण हालसम्म संसद्मा राखिएको छैन।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ ११, सोमबार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP