प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले ‘भारतको जमिन कब्जा गरेको’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गम्भीर आपत्ति जनाएको छ । सोमबार नेकपाका प्रवक्ता प्रकाश ज्वालाले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त धारणाप्रति पार्टीको ध्यानाकर्षण भएको र यसलाई ‘गम्भीर राष्ट्रघात’ को संज्ञा दिएका छन् ।
विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता प्रतिकूल हुनुका साथै स्थापित ऐतिहासिक तथ्यविपरीत रहेको उल्लेख गरिएको छ । नेकपाले यस अभिव्यक्तिको घोर निन्दा र भर्त्सना समेत गरेको छ ।
नेकपाले सीमा क्षेत्रमा हुने अतिक्रमणलाई जमिन कब्जा गरेको रूपमा बुझ्न र व्याख्या गर्न नमिल्ने प्रस्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ:
“कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको जमिनमा आपसी सहमति वा कानुनी अधिकारविना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो ।”
यसैगरी, देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार हुने गरी यस्तो अभिव्यक्ति दिनु संविधानको मर्मविपरीतको कार्य भएको नेकपाको ठहर छ ।
नेकपाले प्रधानमन्त्री शाहलाई आफ्नो भनाइ तत्काल सच्याउन र उक्त अभिव्यक्ति संसद्को रेकर्डवाट हटाउन जोडदार माग गरेको छ । साथै, राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया