विराटनगर । प्रशासनले ‘बिचौलिया’ को संज्ञा दिँदै धरपकड गरेको विरोधमा लेखापढी व्यवसायीहरूले देशभरका मालपोत कार्यालयहरूमा कामकाज ठप्प पारेका छन्। व्यवसायीहरूले ‘पेन डाउन’ गर्दै अनलाइन प्रणाली (भू-सेवा आईडी) समेत बन्द गरिदिएपछि देशभरको मालपोत सेवा प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको हो।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अनुसार मालपोतको कामका लागि अनिवार्य मानिने भू-सेवा केन्द्रमार्फत गरिने अनलाइन प्रविष्टि र कागजात तयारीको काम पूर्णतः रोकिएको छ। व्यवसायीहरूले ‘पाम सफ्टवेयर’ मा तथ्याङ्क प्रविष्टि गर्न छोडेपछि जग्गा पास, नामसारी तथा अन्य प्रशासनिक कार्यहरू प्रभावित भएका छन्।
मुख्य विवाद के हो? पछिल्लो समय प्रशासनले मालपोत कार्यालयहरूमा सक्रिय व्यक्तिहरूलाई ‘बिचौलिया’ भन्दै नियन्त्रणमा लिने र कानुनी कारबाही गर्ने प्रक्रिया थालेको छ। तर, व्यवसायीहरूले भने आफूहरू राज्यलाई विधिवत् रूपमा धरौटी बुझाएर र अनुमति लिएर ऐन बमोजिम मर्यादित पेशामा संलग्न रहेको दाबी गरेका छन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मोरङका अध्यक्ष कन्चन न्यौपानेले प्रशासनको कदमप्रति आपत्ति जनाउँदै भन्नुभयो:
“राज्यले हामीसँग धरौटी राखेर भू-सेवा केन्द्र चलाउने अनुमति दिएको हो। यो कुनै अवैध कार्य होइन। तर, हामीलाई बिचौलियाको बिल्ला भिराएर धरपकड गरिएकाले बाध्य भएर काम रोक्नु परेको हो।”
आन्दोलनको प्रभाव आन्दोलनका कारण विशेषगरी कोसी प्रदेशका मालपोत कार्यालयहरूमा सेवाग्राहीहरू निकै मर्कामा परेका छन्। कोसी प्रदेशमा मात्रै करिब एक हजार र देशभर झण्डै ३० हजारको संख्यामा लेखापढी व्यवसायीहरू क्रियाशील छन्।
व्यवसायीका माग:
आफ्ना मागहरू सम्बोधन नभएसम्म र धरपकड नरोकिएसम्म आन्दोलन जारी रहने चेतावनी व्यवसायीहरूले दिएका छन्। मालपोत कामकाज ठप्प हुँदा दैनिक लाखौँ रुपैयाँ राजस्व गुम्नुका साथै टाढा-टाढाबाट आएका सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ।
प्रतिक्रिया