नेपाल सरकारको अनुरोधमा अमेरिकी अनुसन्धान संस्था एफबीआईका फरेन्सिक विशेषज्ञहरूले विनाशकारी बाढीपछिको विपद्मा ज्यान गुमाएकाहरूको पहिचान (डीभीआई) गर्न नेपाल प्रहरीसँग सहकार्य थालेका छन्। नेपालस्थित अमेरिकी दूतावासका अनुसार एफबीआईले विशेष मानवीय तथा फरेन्सिक विशेषज्ञता उपलब्ध गराउँदै नेपाली अधिकारीहरूसँगको समन्वयमा मृतकहरूको पहिचान गर्न र अमेरिकी नागरिकसहित यस त्रासदीमा ज्यान गुमाएका सबैका परिवारलाई आधिकारिक जानकारी उपलब्ध गराउन सहयोग गरिरहेको छ।
२०० किलोमिटरभन्दा लामो बाढी प्रभावित क्षेत्र र ठूलो संख्यामा बेपत्ता तथा मृतकको पहिचान गर्नुपर्ने जटिल अवस्थाका कारण यो प्रक्रिया निकै सावधानीपूर्वक र व्यवस्थित ढंगले अघि बढाउनुपर्ने चुनौती छ। त्यसैले एफबीआईले कामलाई सकेसम्म छिटो सम्पन्न गर्न नेपालका विभिन्न तहका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाइएको छ।
खोज तथा उद्धारका प्रयासहरू जारी रहँदा संयुक्त राज्य अमेरिका आफ्ना नागरिकलाई हराइरहेका आफन्तको खोजीमा सहयोग गर्न र नेपाललाई आवश्यक सहायता उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको दूतावासले स्पष्ट पारेको छ। साथै, बाढीबाट प्रभावित सबै तथा आफ्ना प्रियजन गुमाएकाहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै दूतावासले अझै बेपत्ता रहेकाहरू सकुशल फर्किने आशा व्यक्त गरेको छ।
प्रतिक्रिया