गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि मानसिक स्वास्थ्य समस्यासम्बन्धी बिरामी बढेका छन् । चिकित्सकहरूका अनुसार आन्दोलनको त्रास र तनावपछि मानसिक स्वास्थ्यसम्बन्धी बिरामी बढेका हुन् । आन्दोलनपछि मानसिक अस्पताल पाटन तथा अन्य जनरल अस्पतालमा परामर्श लिनेको संख्यासमेत बढेको छ । स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखा प्रमुख फणीन्द्र बरालले विभागले जेन–जी आन्दोलन र प्रत्यक्ष असर परेका व्यक्ति र परिवारलाई काउन्सिलिङ तथा परामर्श सेवाप्रवाह गरिरहेको बताए ।
स्वास्थ्य मन्त्रालयले गत सोमबार सबै संघीय अस्पताललाई साइको सोसियल काउन्सिलिङको हेल्प डेस्क राख्न निर्देशन दिएको थियो । त्यसलगत्तै हेल्प डेस्क स्थापना भएको छ । स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले यो वेला मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताइन् । ‘जेन–जी आन्दोलनबाट प्रभावित सबै किसिमका व्यक्तिका लागि मनोसामाजिक परामर्श सेवा आवश्यक छ, सोहीअनुसार परामर्श कक्ष व्यवस्थापन गर्ने निर्णय भयो, यसबारे विज्ञहरूबाट थप गृहकार्य हुन्छ,’ उनले भनिन्, ‘देशको वर्तमान परिस्थिति हेरेर मैले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेकी छु, यो चुनौतीको रूपमा देखापर्न थालेको छ, मानसिक अवस्थाको पत्ता लगाएर यसमा थप गृहकार्य गर्नेछु ।’
मानसिक अस्पताल पाटनका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. सुरज तिवारीका अनुसार दैनिक डेढ सयको संख्यामा मानसिक स्वास्थ्यका समस्या लिएर बिरामी आउने गरेका छन् । त्यसमध्ये अधिकांश एनजाइटी र साइकोसिसका छन् । ‘मैले उपचार गरेका कतिपय बिरामीमा जेन–जी आन्दोलनको नकारात्मक असर परेको देखिन्छ । उहाँहरू जेन–जी आन्दोलनको नाम लिनुहुन्छ, त्यसको भय र त्रासले पनि उहाँहरूमा मानसिक समस्या देखिने गरेको छ, अझ कतिपय बालबालिका पनि मानसिक स्वास्थ्य समस्या बोकेर आउनुहुन्छ,’ उनले भने, ‘अस्पतालको सम्पर्कमै नआएका धेरै हुन सक्छन् । घरघरमा समेत मानसिक स्वास्थ्य समस्याका बिरामी बढेका छन् । अन्य थुप्रै स्वास्थ्य संस्थामा पनि मानसिक स्वास्थ्यसम्बन्धी बिरामी बढेको सुनेको छु ।’
तिवारीका अनुसार आन्दोलनमा भएको विध्वंशका घटनाका कारण देशमा केही नहोला कि भन्ने सोचले कतिपय युवाहरू मानसिक रूपमा विक्षिप्त बनेको देखिन्छ । कतिपयका परिवारका आफन्तको मृत्यु र घाइते भएपछि त्यही पीडाले उनीहरूमा मानसिक समस्यासमेत देखिन थालेको छ । अझ आन्दोलनमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोस्नेदेखि लुटपाटजन्य अपराध गरेका दृश्यले बालबालिकाहरूमा समेत असर पारेको उनको भनाइ छ ।
डा. तिवारीका अनुसार हाल कारागारबाट भागेका कैदीबन्दीका कारण पनि समाजमा तनाव र त्रास बढेको छ । यसले पनि मानसिक समस्या बढाउन मद्दत गरेको उनको भनाइ छ । ‘यसअघि फरक किसिमका समस्या भएका बिरामी आउने गरेका थिए । हिजोआज जेन–जी आन्दोलनपछि देखिएको अवस्थाको चित्रण गर्दै बिरामी आउँछन्, उनीहरू एकोहोरो देखिन्छन्, यो वेला मानसिक स्वास्थ्यको समस्या बढ्छ, त्यसकारण सतर्क हुनुपर्छ । कोही निराश वा एक्लो छ भने उसलाई सहयोग गर्नुपर्छ,’ उनले भने, ‘कसैमा तनाव छ भने तनाव व्यवस्थापनका उपाय अपनाउने, समाधान खोज्ने, बालबालिकालाई अभिभावकले राम्ररी हेरविचार गर्ने गर्नुपर्छ ।’
आन्दोलनपछि मानसिक अस्पताल पाटनमा काउन्सिलिङका लागि आउनेहरू बढे
पाटन मानसिक अस्पतालभित्र बालबालिका तथा किशोर–किशोरी एकाइ छ । त्यहाँ पनि जेन–जी आन्दोलनपछि आउने बालबालिकाको संख्या बढेको छ । अभिभावकले परामर्शका लागि दैनिक २० जनाभन्दा बढी बालबालिका ल्याउने गरेका छन् । उनीहरूमा तनाव र एन्जाइटी देखिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. सुरज तिवारीका अनुसार आन्दोलनमा भएको विध्वंसका घटनाका कारण देशमा केही नहोला कि भन्ने सोचले कतिपय युवाहरू मानसिक रूपमा विक्षिप्त बनेको देखिन्छ । कतिपयका परिवारका आफन्तको मृत्यु र घाइते भएपछि त्यही पीडाले उनीहरूमा मानसिक समस्यासमेत देखिन थालेको छ ।
सामाजिक सञ्जालमा आउने हिंसात्मक सामग्री पनि तनाव बढाउने कारण
आन्दोलनपछि सामाजिक सञ्जालमा आउने हिंसात्मत सामग्री पनि तनाव बढाउने कारण बनेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखा प्रमुख फणीन्द्र बरालले जेन–जी आन्दोलनपछि मानसिक स्वास्थ्यको अवस्था भयावह बनेको बताए । ‘मानसिक स्वास्थ्यमा समस्या ल्याउने अर्को कारण सामाजिक सञ्जालमा आउने गलत सामग्री पनि हो, जताततै नराम्रो मात्रै देखिने हुँदा व्यक्तिमा त्यसले असर गरेको हुन्छ, जेन–जी आन्दोलनपछि मानसिक स्वास्थ्य बढेको छ, देशैभरका अस्पतालमा बिरामीको संख्या बढ्दो छ,’ उनले भने, ‘परामर्शका लागि स्कुल फोकस साइकोसोसिस काउन्सिलिङ कार्यक्रम तय भएको छ । विद्यालयका नर्सलाई काउन्सिल गर्ने कार्य पनि गरिरहेका छौँ ।’
बरालका अनुसार कुनै पनि महामारी वा द्वन्द्व तथा आतंकको अवस्थामा मानसिक स्वास्थ्य समस्या बढ्छ । अन्तर्राष्ट्रिय अध्ययनले पनि यसप्रकारका गतिविधि हुँदा मानसिक समस्या बढ्ने औँल्याएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले हाल देशभरका अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बोकेर आउने बिरामीको संख्या बढेकाले देशभरको तथ्यांक एकीकृत गरेर निराकरणमा लागिने बताए । ‘जेन–जी आन्दोलनपछि मानसिक समस्या बढेको छ, हामीले देशभरको तथ्यांक विश्लेषण गरेर थप प्रभावकारी रूपमा काम गर्दै छौँ,’ उनले भने, ‘संघीय अस्पतालमा हेल्प डेस्क स्थापना भइसकेको छ ।’
बालबालिकालाई मनोसामाजिक परामर्शका कक्षा आवश्यक
राष्ट्रिय बाल अधिकार परिषदका सुचना अधिकारी रामबहादुर चन्दले जेनजी आन्दोलनले बालबालिकाको मनोविज्ञानमा लामो समयसम्म असर पार्ने भएकाले मनोसामाजिक परामर्शका कक्षाहरू सञ्चालन गर्नुपर्ने बताए । ‘अहिले बालबालिकाको मन भाँडिएको छ, उनीहरूलाई परामर्शसहित नियमित शिक्षामा लगाउनुपर्छ, सकिन्छ भने स्कुलमै सचेतना मनोपरामर्श दिनुपर्छ,’ उनले भने, ‘बालबालिका तथा जेनजीहरूको अहिलेको मनोभावना बुझेर परामर्श दिनुपर्छ ।’
बाल अदालतकी बालमनोविद् सुशीला सिम्खडाले जेनजी आन्दोलनपछि जेनजी उमेर समूह र त्योभन्दा तल्लो उमेर समूहको मनोविज्ञानमा असर परेकाले उनीहरूलाई मनोपरामर्श आवश्यक रहेको बताइन् । ‘जेनजी आन्दोलनपछि नेपालका धेरै बालबालिका र किशोरकिशोरीमा गहिरो मनोवैज्ञानिक असर देखिएको छ । आन्दोलनका क्रममा देखिएका हिंसात्मक दृश्य, भीड, चर्का आवाज, तोडफोड, आगजनी र असुरक्षित वातावरणले उनीहरूको मानसिक स्थिरतामा ठुलो धक्का पुर्याएको छ । धेरै बालबालिकाले राति सुत्न नसक्ने, सामान्य आवाजमा पनि डराउने, विद्यालय जान नचाहने र पढाइमा ध्यान नलाग्ने समस्या अनुभव गरिरहेका छन् । सामाजिक सञ्जालमा बारम्बार ती घटनाका दृश्य हेर्नु वा सुन्नुले डर र तनावलाई अझ बढाएको छ,’ उनले भनिन्, ‘किशोरहरूमा निराशा, अस्थिरता, र भविष्यप्रति अनिश्चितताको भावना बढेको छ । उनीहरूमा आत्मविश्वास घटेको जस्ता अवस्थाले बालबालिकाको मनोवैज्ञानिक विकासमा दीर्घकालीन असर पार्न सक्छ ।’
आन्दोलनको भय र त्रासले कतिपयमा मानसिक समस्या देखिने गरेको छ : डा. सुरज तिवारी निर्देशक, मानसिक अस्पताल लगनखेल
मैले उपचार गरेका कतिपय बिरामीमा जेन–जी आन्दोलनको नकारात्मक असर परेको देखिन्छ । उहाँहरू जेन–जी आन्दोलनको नाम लिनुहुन्छ, त्यसको भय र त्रासले पनि उहाँहरूमा मानसिक समस्या देखिने गरेको छ । अझ कतिपय बालबालिका पनि मानसिक स्वास्थ्य समस्या बोकेर आउनुहुन्छ । अस्पतालको सम्पर्कमै नआएका धेरै हुन सक्छन् । घरघरमा समेत मानसिक स्वास्थ्य समस्याका बिरामी बढेका छन् ।
यसअघि फरक किसिमका समस्या भएका बिरामी आउने गरेका थिए । हिजोआज जेन–जी आन्दोलनपछि देखिएको अवस्थाको चित्रण गर्दै बिरामी आउँछन्, उनीहरू एकोहोरो देखिन्छन्, यो वेला मानसिक स्वास्थ्यको समस्या बढ्छ, त्यसकारण सतर्क हुनुपर्छ । कोही निराश वा एक्लो छ भने उसलाई सहयोग गर्नुपर्छ । कसैमा तनाव छ भने तनाव व्यवस्थापनका उपाय अपनाउने, समाधान खोज्ने, बालबालिकालाई अभिभावकले राम्ररी हेरविचार गर्ने गर्नुपर्छ ।
प्रतिक्रिया