• २०८३ बैशाख ९ | Wed, 22 Apr 2026

  • प्रचण्डको लगानी भन्दै रिसोर्टमा आगजनी : एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    प्रचण्डको लगानी भन्दै रिसोर्टमा आगजनी : एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    १९ मंसिर, पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै पोखराको वरपिपल रिसोर्ट जलाएको अभियोगमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ६ जना धरौटीमा रिहा भएका छन् ।

    जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते वरपिपल रिसोर्टमा प्रचण्डको लगानी रहेको भन्दै तोडफोड र आगजनी भएको थियो । प्रहरीले जाहेरीका आधारमा ७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

    सरकारी वकिलको कार्यालय कास्कीले दर्ता गराएको अभियोगमाथि जिल्ला अदालत कास्कीले १ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न र ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

    जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले तोडफोड र आगजनीमा संलग्न रहेको अभियोगमा रुपक नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको छ ।

    पोखरा–१७ घारीपाटन बस्ने बडिबिल्डर २९ वर्षीय रुपकको संलग्नता नरहेको पुष्टि हुने आधार नभएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउँदा महेन्द्र नेपाली र एलिशा गुरुङलाई २ लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।

    कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का, खड्कबहादुर थपा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    जेनजी आन्दोलनका क्रममा यसअघि १४ जना पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

    किटानी जाहेरीका आधारमा प्रहरीले प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी तथा तोडफोड गरेको अभियोगमा ७ जनालाई पक्राउ गरेको थियो ।

    उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको थियो ।

    पक्राउ परेका रुपक अर्धनग्न शरीर देखाउँदै होटल जलाउन पुगेको फोटो, भिडियोसहितको प्रमाण प्रहरीले फेला पारेको थियो । उनले पोखरा रंगशालामा प्रशिक्षणसमेत दिने गरेको खुलेको थियो ।

    वरपिपल रिसोर्टमा ३ वटा पर्यटक गाडी, ३ वटा गेस्ट कार, रिसोर्टको बार, स्पा, लबी, गेस्ट रूपमा आगजनी तथा तोडफोड भएको थियो । आगजनी तथा तोडफोडपछि लुटपाटसमेत भएको सञ्चालक अमरजंग गुरुङ (जितु)ले बताएका छन् ।

    लमजुङका अमरजंग ३० वर्षदेखि पोखरामा पर्यटनको क्षेत्रमा क्रियाशील छन् ।

    ‘३० औं वर्षको श्रम, पसिना, मिहिनेतबाट, बैंकबाट ऋण काडेर लगानी गरेको हुँ, मानिसहरूले प्रचण्डको लगानी छ भन्दै आजगनी, तोडफोड र लुटपाट मच्चाउँदा भौतिक क्षतिमात्रै भएन तर अफवाहले ब्राण्डमाथि नै क्षतिसमेत पुग्यो,’ जितुले भने, ‘कुनै नेताको यहाँ लगानी छैन । मेरै खुन पसिना छ । तर, हामीले मनोबल कमजोर नपारी गुणस्तरीय सेवा दिइरहेका छौं ।’

    जेनी आन्दोलनका क्रममा २४ गते काठमाडौंपछि धेरै सरकारी तथा निजी संरचना क्षति हुने प्रमुख ठाउँमध्ये एक पोखरा हो । पोखरामा २७ प्रहरी चौकी, २७ निजी घर तथा व्यवसाय र १ सय १६ वटा सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १९, शुक्रबार ०७:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP