• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • अख्तियारले शक्ति र पद हुँदैमा कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ : राष्ट्रपति

    अख्तियारले शक्ति र पद हुँदैमा कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ : राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिकमा दिलाउने गरी काम गर्नुपर्ने अझै खाँचो रहेको पनि बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

    ‘अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि होइन, यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती हो,’ उनले भने, ‘तर, आज आत्मसन्तुष्ट हुने समय होइन, आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिकमा दिलाउने गरी काम गर्नुपर्ने म अझै खाँचो देखिरहेको छु ।’

    राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग केवल कानुन उल्लंघन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि भएको बताए। सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउँदछ, तर बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ भन्ने प्रण गर्ने हो भने जे–जसरी पनि सत्ता, शक्ति र धन प्राप्तिको मोहलाई नियन्त्रण गर्न सकिन्छ र भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिने आफ्नो विश्वास रहेको उनको भनाइ थियो ।

    ‘सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता एवं निर्भीकतालाई जीवन पद्धतिकै रूपमा अगाडि बढाएर काम गर्न सकियो भने यो छिट्टै सम्भव छ, यसका लागि नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास होस् भन्ने मेरो चाहना छ,’ राष्ट्रपति पौडेलले भने ।

    लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हाम्रो चाहना हो भन्दै उनले सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन सकिँदैन भने । ‘जनताको अपेक्षाअनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो, लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनैपर्छ,’ राष्ट्रपति पौडेलले भने ।



    radiomirmire radiomirmire    
  • २०८२ माघ २८, बुधबार ०८:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP