विराटनगर/सुनसरी — प्रहरीको गोली लागेर स्थानीय युवाको मृत्यु भएपछि चर्किएको आन्दोलनका कारण पूर्वी तराईको पूर्व-पश्चिम राजमार्ग र मुख्य सहरी क्षेत्र असान्त बनेको छ। देवानगन्जको स्थिति नियन्त्रणतर्फ उन्मुख भए पनि इनरुवादेखि कोसी ब्यारेजसम्मको राजमार्ग क्षेत्र तीव्र प्रदर्शनका कारण तनावग्रस्त छ।
प्रदर्शनकारीहरूले मुख्य सडकमै टायर बालेर यातायात ठप्प पारेका छन्। आन्दोलन हिंसात्मक बन्न सक्ने र सुरक्षा जोखिम बढेकाले प्रहरीले इटहरीबाट पश्चिम जाने सम्पूर्ण सवारीसाधन रोकेको छ।
राजमार्ग ठप्प: इनरुवा-कोसी ब्यारेज खण्डका विभिन्न ठाउँमा सडक थुनेर प्रदर्शन भइरहेको छ।
विराटनगरमा प्रभाव: आन्दोलनको राप विराटनगरसम्म पुगेको छ, जहाँ मुख्य बजार तथा व्यावसायिक प्रतिष्ठानहरू जबरजस्ती बन्द गराइएका छन्।
सुरक्षा सतर्कता: जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार थप दुर्घटना हुन नदिन इटहरीबाटै सवारीसाधन नियन्त्रणमा लिइएको छ।
आइतबार राति देवानगन्जमा दुई पक्षबिच भएको दोहोरो झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज-३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो। उक्त घटनामा २२ जना घाइते भई विभिन्न अस्पतालमा उपचाररत छन्। सोही घटनालाई लिएर आफन्त र स्थानीयवासी आक्रोशित बनेका हुन्।
प्रतिक्रिया