काठमाडौँ — प्रतिनिधि सभा सदस्य गंगादेवी श्रेष्ठले सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कडा आलोचना गर्दै यसलाई पुनर्लेखन गर्नुपर्ने माग गर्नुभएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा जारी छलफलमा सहभागी हुँदै सांसद श्रेष्ठले यो नीति तथा कार्यक्रमले सत्तापक्ष र प्रतिपक्ष कसैलाई पनि उत्साहित बनाउन नसकेको टिप्पणी गर्नुभयो।
सम्बोधनका क्रममा सांसद श्रेष्ठले विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाहको प्रसङ्ग जोड्दै कटाक्ष गर्नुभयो। उहाँले यो नीति तथा कार्यक्रम विपक्षी दलका सांसदहरूलाई मात्र नभएर स्वयम् प्रधानमन्त्री शाहलाई समेत मन नपरेको जिकिर गर्नुभयो। बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रम मन नपरेकाले नै प्रधानमन्त्री आजको बैठकमा नआउनुभएको हुनुपर्छ।”
आफ्नो संशोधन प्रस्तावमाथि धारणा राख्दै सांसद श्रेष्ठले वातावरण प्रदूषण नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा विशेष जोड दिनुभयो। वायु प्रदूषणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्नका लागि पुराना सवारी साधनहरूको विस्थापन र उचित व्यवस्थापन गर्ने विषय नीति तथा कार्यक्रममा स्पष्ट रूपमा आउनुपर्ने उहाँको तर्क थियो। वातावरण संरक्षणका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै उहाँले वर्तमान दस्तावेजलाई परिमार्जन गरी पुनः तयार पार्न सरकारसँग आग्रह गर्नुभयो।
प्रतिक्रिया