• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा

    महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा

    राष्ट्रिय महिला क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणका सबै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सहभागी टोलीले प्रतिस्पर्धा गर्ने मैदान सार्वजनिक गरेको हो । पहिलोपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट आयोजना गर्ने अवसर पाएको क्यानले त्रिवि क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदान छुट्याएको छ ।

    ग्लोबल छनोटमा पहिलोपटक सहभागी नेपालले ४ माघमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा थाइल्यान्ड मात्र विश्वकप खेलेको राष्ट्र हो । ८ माघमा नेपाल र नेदरल्यान्ड्सबिच दोस्रो खेल हुनेछ । टेस्ट राष्ट्र जिम्बावेविरुद्ध नेपालले १० माघमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबिच १२ माघमा खेल हुने क्यानले जनाएको छ ।

    गत वर्षको ९–२० मेसम्म थाइल्यान्डमा भएको एसियन छनोटमा उपविजेता हुँदै नेपालले पहिलोपटक विश्वकपको ग्लोबल छनोट स्थान पक्का गरेको हो । छनोटमा थाइल्यान्ड विजेता हुँदै लगातार दोस्रोपटक ग्लोबल छनोटमा स्थान सुरक्षित ग¥यो । ग्लोबल छनोट दुई समूह विभाजित छ । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । समूह ‘बी’मा आयोजक नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छन् । समूह चरणबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सका शीर्ष चार राष्ट्रले विश्वकपको टिकट पक्का गर्नेछन् ।

    कुन–कुन क्षेत्रबाट छनोट
    सन् २०२६ को जुनमा इंग्ल्यान्डले आयोजना गर्ने विश्वकपका लागि डेढ वर्षदेखि छनोट प्रतियोगिता भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०२४ देखि २०२५ को सेप्टेम्बरसम्म क्षेत्रीय छनोट आयोजना गरेको थियो । अर्जेन्टिनामा भएको अमेरिकन छनोटमा अमेरिकाले शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । त्यसपछि एसियन छनोट थाइल्यान्डमा भयो । जहाँ थाइल्यान्ड र नेपाल अगाडि बढे । अगस्टमा युरोपियन छनोट प्रतियोगिता भयो । आयरल्यान्ड र नेदरल्यान्ड्सले पहिलो तथा दोस्रो स्थान रक्षा गर्दै ग्लोबल छनोट स्थान सुरक्षित गरेका थिए ।

    गत वर्षको अगस्टदेखि सेप्टेम्बरमा अफ्रिकी छनोटमा दुई स्थानका लागि प्रतिस्पर्धा भएको थियो । यसमा नामिबिया शीर्ष र जिम्बावे दोस्रो स्थानम रहँदै ग्लोबल छनोटमा पुगेका हुन् । इस्ट प्यासिफिक छनोटबाट पपुवा न्युगिनी मात्र छनोट भएको थियो । बंगलादेश र स्कटल्यान्ड भने वरीयता आधारमा सिधै छनोट भएका हुन् । आइसिसीले ग्लोबल छनोटमा १० राष्ट्रबिच प्रतिस्पर्धा गराउन लागेको हो । जसबाट चार राष्ट्रले विश्वकप खेल्नेछन् ।

    इन्दुको कप्तानीमा नेपाली टोली
    क्यानले गत आइतबार नेपाली टोली घोषणा गरेको थियो । इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा हुँदा तीनजना पूर्वखेलाडीले पुनरागमन गरेका थिए । नेपाली महिला टोलीकै पहिलो पुस्ताका खेलाडी सीता रानामगरसँगै काजल श्रेष्ठ र सोनु विष्टले स्थान सुरक्षित गरे । घोषित टोलीमा पूर्वकप्तान रुविना क्षेत्री र सीता सबैभन्दा सिनियर खेलाडी हुन् । सीताले नेपालबाट ६३ टी–२० आईमा ९६५ रन बनाएकी छिन् । विकेटकिपर ब्याट्सम्यानका रूपमा पुनरागमन गरेकी काजलले सन् २०२४ को २३ जुलाईपछि स्थान बनाएकी हुन् । उनले अन्तिमपटक गत वर्ष भारतविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । सोनु भने टोलीमा अलराउन्डर भूमिका छिन् । उनले अहिलेसम्म नेपालबाट सात टी–२० आईमा सहभागिता जनाएकी छिन् ।

    टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोले पाएकी छिन् । नियमित खेलाडीहरू पूर्वकप्तान रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का तथा कविता जोशीले पनि ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, राजमती ऐरी र मनीषा उपाध्यायसहितको टोली घोषणा क्यानले गरेको हो ।

    आइसिसीले ग्लोबल छनोट प्रतियोगिताअघि सहभागी १० वटै राष्ट्रलाई अभ्यास खेल मिलाएको छ । आयोजक नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बावेसँग अभ्यास खेल खेल्नेछ । २३ पुसमा नेपालले अमेरिकासँग अभ्यास खेल खेलेको थियो । जसमा अमेरिकाले नेपालमाथि आठ विकेटको जित निकालेको थियो । नेपालले दोस्रो अभ्यास खेल शुक्रबार खेल्नेछ । नेपालले स्कटल्यान्डसँग मूलपानीको माथिल्लो मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि आगामी आइतबार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल्ने कार्यक्रम रहेको छ । आइसिसीले विश्वकप प्रतियोगितामा सहभागी हुने टोलीबिच अभ्यास खेल राख्ने गर्छ । जसमा टोलीहरूले आ–आफ्ना कमजोरी सच्याउने अवसर पाउनेछन् ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २५, शुक्रबार ०७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP